सिटिजन्स बैंक लुटपाटमा भारतीय पेशेवर लुटेराको सम्लग्नता

विराटनगर । मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारको सिटिजन्स बैंक लुटपाटमा भारतीय पेशेवर लुटेराहरुको सलग्नता देखिएको छ ।

भारतीय प्रहरीको मोष्ट वान्टेड सूचिमा रहेका कुख्यात डाकाहरुको सम्लग्नता देखिएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुशार भारतीय प्रहरीको वान्टेड सूचिमा रहेकाहरूबाट बैंकको लुटपाट भएको हो ।

८ जनाको समूहमा आएकाहरूले बैक लुटपाट गरेको उहाँले जानकारी दिनुभएको छ । सुरुमा ५ जना मात्रै देखिएपनि ८ जनाको सम्लग्नता देखिएको प्रहरीको भनाइ छ ।

उपरीक्षक जिसीका अनुसार मुख्य योजनाकार भने विराटनगर मुनालपथका एक पुरुष रहेको खुल्न आएको छ । लुटपाटमा सम्लग्न अन्य सबै भारतीय नागरिक हुन् ।

बयानमा उनीहरूले एक अर्कालाई नचिनेको बताएका छन् । एक अर्कालाई नचिने पनि मुख्य योजनाकार श्याम मुखियालाई भने चिन्ने गरेको उनीहरूले बताएको उपरीक्षक जिसीले बताउनुभयो ।

मुखियाले ऋण तिर्नकालागि भारतबाट उनीहरूलाई बोलाएको खुल्न आएको छ । ‘ऋण छ, बैंक लुटपाट गरेर बाँडेर खाउँला भनेर बोलाएको पाइन्छ,’ जिसीले बताउनुभयो । बंैकमा लुटपाटमा सम्लग्न तीन जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

पक्राउ पर्नेमा मुख्य योजनाकार श्याम मुखिया, विजय हानि र मुनाल यादव रहेको प्रहरीले जनाएको छ । मुख्य योजनाकार मुखियाले ठेगाना समेत भारत भनेर ढाँटेको र पछि अनुसन्धानका क्रममा विराटनगरका रहेको खुल्न आएको उपरीक्षक जिसीले बताउनुभयो ।

बैंकका कर्मचारीले राति १० बजेसम्म हिसाब गरेर २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ नभएको जनाएका थिए । आज केही भौचहरु भेटिएको भनेर जानकारी गराएको भन्दै उपरीक्षक जिसीले बैंकबाट के कति पैसा लुटियो भन्ने अझै एकिन भई नसकेको बताउनुभयो ।

बैंकभित्र प्रवेश गर्दा सुरक्षा गार्ड शीतल कुवँरले उनीहरूलाई रोक्ने प्रयास गर्नुभएको थियो । कुवँरले रोक्न खोज्दा लुटेरा समूहले पेस्तोल देखाएको थियो ।

पेस्तोल खोस्ने प्रयासमा कुँवरलाई लागेपछि उनीहरूले बैंकमा दुई राउन्ड गोली फायर गरेका थिए । एक राउन्ड गोली सुरक्षा गार्डको घाटीको पछाडिपट्टिको भागमा लागेको थियो भने अर्काे गोली आफ्नै साथीलाई लागेको थियो ।

आफ्नै साथीलाई गोली लागेपछि प्रहरीलाई पक्राउ गर्न सहज भएको हो । लुटपाटमा सम्लग्न विजय सहनीलाई तिघ्रामा गोलि लागेको थियो । घाइतेलाई लिएर भारत तर्फ जादै गर्दा सीमावर्ती क्षेत्रबाट तीनजनालाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।

भारतीय प्रहरीको सहयोगमा उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनामा घाइते सुरक्षा गार्ड र लुटेरा समूहका विजयको उपचार भइरहेको छ ।

Back to top button