कञ्चनपुरमा मदिरा बिक्री वितरण गर्न रोक

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले दशैं तथा तिहार लक्षित गरी कञ्चनपुरमा मदिरा बेचबिखनमा रोक लगाएको छ ।

चाडपर्वका बेला मदिरा सेवन गरी हुने हिंसात्मक गतिविधि रोक्न सर्वपक्षीय बैठकले बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो।प्रशासनले असोज २८ गते साँझ ७ बजेदेखि विजया दशमीको राति १२ बजेसम्म मदिरा बेचविखन र सेवनको कार्यमा रोक लगाएको हो।

कात्तिक १९ गते तिहारका बेला साँझ ७ बजेदेखि भाइटीकाको राति १२ बजेसम्म बिक्री वितरण र सेवनमा रोक लगाउने निर्णय गरिएको महिला सञ्जाल तथा मदिरा नियन्त्रण समिति कन्चनपुरकी अध्यक्ष भगवती थापाले बताउनुभयो ।

चाडपर्वका बेला मदिरा बिक्री–वितरण र सेवनले समाजमा अशान्ति मच्चाउने, झै–झगडा हुने, दुर्घटना निम्तिने र महिलामाथि हिंसालगायतका घटना हुने भएकाले अवाञ्छित क्रियाकलाप कम गर्न यस्तो निर्णय गरिएको थापाले भन्नुभयो ।

मदिरा बिक्री–वितरण र सेवनमा रोक लगाउनका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमार्फत सवै प्रहरीका ईकाइमा पत्राचार गरीसकेको बताइएको छ।

Back to top button