परराष्ट्र मन्त्री खड्का स्वदेश फिर्ता

काठमाडौं । सर्बियाको बेलग्रेडमा सम्पन्न असंलग्न राष्ट्रहरूको उच्चस्तरीय बैठकमा भाग लिएर परराष्ट्र मन्त्री डा. नारायण खड्का आज स्वदेश फर्किनुभएको छ ।

गणतन्त्र सर्बिया र गणतन्त्र अजरबैजानका परराष्ट्र मन्त्री निकोला सेलाकोविक र जेहुन ब्यरामभको निमन्त्रणामा परराष्ट्र मन्त्रालयका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री खड्का असोज २२ गते बेलग्रेड प्रस्थान गर्नुभएको थियो ।

बेलग्रेडमा २५ र २६ गते असंलग्न राष्ट्रहरूको उच्चस्तरीय बैठक सम्पन्न भएको थियो । स्वदेश फर्किएलगत्तै आज पत्रकारलाई जानकारी गराउँदै आफ्नो भ्रमण सफल र नेपालको निम्ति फलदायी रहेको मन्त्री डा. खड्काले दावी गर्नुभयो ।

असंलग्न आन्दोलनका सयभन्दा बढी सदस्य राष्ट्रको सहभागिता रहेको विशेष समारोहमा परराष्ट्र मन्त्री खड्काले असोज २५ गते सम्बोधन गर्नुभएको थियो ।

उहाँले सम्बोधनका क्रममा असंलग्न आन्दोलन मञ्चलाई वर्तमान विश्वमा देखा परेका बढ्दो जातीय तथा अन्तर–राज्य द्वन्द्व, हिंसात्मक अतिवाद, अन्तर्राष्ट्रिय आतङ्कवाद, जलवायु परिवर्तन, आर्थिक मन्दी, वित्तीय जोखिम, भूराजनीतिक जटिलता र हातहतियारको होडबाजीलगायतका विषयलाई जोडदार रूपमा आवाज उठाएको जानकारी दिनुभयो ।

बैठकमा धनी र गरिब राष्ट्रबीचको बढ्दो असमानता, इन्धन तथा खाद्य सङ्कट र कोभिड–१९ को महामारीले ल्याएका चुनौतीजस्ता विषय आफूले उठाएको उहाँले बताउनुभयो ।

साथै असंलग्न आन्दोलनको स्थापनाकालदेखि नै नेपाल त्यसको सदस्यको रूपमा सक्रिय रहँदै आएको र असंलग्नताको सिद्धान्तलाई नेपालको संविधानले प्रमुख नीतिको रूपमा अङ्गीकार गरेको विषयलाई पनि आफूले राखेको मन्त्री खड्काले जानकारी दिनुभयो ।

बैठककै क्रममा महत्त्वपूर्ण द्विपक्षीय भेटघाट गरेको र ती भेट नेपालका लागि महत्त्वपूर्ण रहेका पनि मन्त्री डा. खड्काले बताउनुभयो ।

Back to top button