कोलकोता आईपीएलको फाइनलमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को जारी सिजनमा कोलकाता नाइट राइडर्सले फाइनलसम्मको यात्रा सुनिश्चित गरेको छ । तेस्रो पटक आइपिएलको फाइनल पुगेको कोलकाताले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्समाथि तीन विकेटको रोमाञ्चक जित निकाल्न सफल भएको छ ।

पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३५ रन बनाएको थियो । जवाफमा कोलकाताले अन्तिम बल बाँकी छँदा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। कोलकतालाई जितका लागि अन्तिम ६ बलमा ७ रन आवश्यक परेको थियो। जहाँ स्पिनर रविचन्द्रन आश्विनको कसिलो बलिङले कोलकाता संकटमा परेको थियो ।

आश्विनको पहिलो बलमा एक रन दिँदा दोस्रो डट तथा तेस्रोमा सकिब अल हसनलाई शून्यमा एलबिडब्लू आउट र चौथो बलमा सुनिल नारायनलाई आउट गराउँदै खेल दिल्लीकै पक्षमा ढल्किएको थियो ।

अन्तिम दुई बलमा ६ रन चाहिएको अवस्थामा पाँचौं बलमा राहुल त्रिपाठीले छक्का प्रहार गर्दा दिल्ली पराजित हुनपुग्यो भने कोलकाता रोमाञ्चक जित निकाल्न सफल भयो ।

कोलकताको जितका लागि ओपनर वेंकटेश ऐरको ५५ रनको योगदान रह्यो । यस्तै राहुल त्रिपाठी ११ बलमा १२ रनमा अविजित रहँदा त्यसअघि अन्तिम १८ बलमा ११ रन आवश्यक पर्दा कोलकता हातमा ७ विकेट थियो।

यद्यपि १८ औं ओभरमा कागिसो रबाडाले एक रन खर्चेर एक विकेट र १९ औं ओभरमा एनरिच नोर्कियाले तीन रन खर्चेर १ विकेट लिएपछि खेल रोमाञ्चक बन्न पुग्यो ।

त्यसअघि शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३५ रनको सामान्य स्कोर बनाएको थियो । दिल्लीका ओपनर शिखर धवनको ३६ र श्रीयस ऐरको ३० रनको योगदान रह्यो ।

दिल्ली लिगमा १४ खेलमा २० अंकका साथ शीर्ष स्थानमा रहेको थियो भने कोलकाताले १४ खेलमा १४ अंकका साथ नेट रनरेटमा मुम्बई इन्डिन्सलाई पछिपार्दै एलिमिनेटर खेलेको थियो। कोलकताले २०१२ को फाइनलमा चेन्नईलाई ५ विकेटले हराउँदै उपाधि जितेको थियो।

२०१४ को फाइनलमा पन्जाब किंग्सलाई ३ विकेटले पराजित गर्दै च्याम्पियन बनेको थियो। कोलकता तेस्रो र चेन्नई चौथो पटक च्याम्पियन बन्ने दाउमा रहने छन्।

Back to top button