मुगु दुर्घटनाका मृतक परिवारलाई आर्थिक सहयोग

काठमाडौं । गत मंगलबार मुगुको छायाँनाथ रारा नगरपालिकाको तपनी खोलामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

छायाँनाथ रारा नगरपालिकाले दुर्घटनामा मृत्यु भएका परिवारलाई जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । नगर प्रमुख हरिजंग शाहीले कार्यपालिकाबाट निर्णय गराएर बस दुर्घटनाका मृतकमध्ये नगरपालिका क्षेत्रका २७ जनाको घरपरिवारलाई जनही ५० हजार रुपैयाँ सहयोग गरिएको जानकारी दिनुभयो।

मृतकका परिवारलाई हातहातमा सहयोग प्रदान गरिएको छ । नगर प्रमुख शाहीका अनुसार मृतक थप पाँच जनाको शव जिल्ला बाहिर हेलिकोप्टरमा पठाउनु परेको कारण आर्थिक सहयोग गरिएन ।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढीका लागि जाँदै गरेको भे१ख ३१६७ नम्बरको बस मंगलबार दिउसो १ बजे दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको थियो।

दुर्घटनामा परी २४ जनाको घटनास्थलमै, ४ जनाको नेपालगञ्ज उद्धारका लागि ताल्चा विमानस्थलमा पुर्‍याउदा पुर्‍याउदै र ४ जनाको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको थियो। दुर्घटनामा परी मृत्यु हुनेमा २२ जना पुरुष र १० जना महिला रहेका थिए।

दुर्घटनामा परी घाइते भएकामध्ये ११ जनाको नेपालगञ्ज मेडिकल कलेज र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। एक वर्षकी बालिका भूमिका खड्काको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ ।

दुर्घटनामा परी मृत्यु भएकामध्ये पाँच जनाको शव नगरपालिकाले हेलिकोप्टर चार्टर गरेर नेपालगञ्ज पठाएको नगर प्रमुख शाहीले जानकारी दिनुभयो।

Back to top button