अफगानिस्तानको एक शिया मस्जिदमा बिष्पोट, ४७ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको कान्दहार शहरस्थित एक शिया मस्जिदमा बम आक्रमण हुँदा ४७ जनाको मृत्यु भएको छ । ७० जना घाइते भएका छन् । हिजोको साप्ताहिक प्रार्थनाका बेला बीबी फातिमा मस्जिदमा बम आक्रमण भएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराका अनुसार विष्फोटमा ४७ जनाको मृत्यु भएको पुष्टि भएको छ । तीन जना आक्रमणकारीले आत्मघाती बम आक्रमण गरेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै अलजजिराले उल्लेख गरेको छ ।

एक जना आक्रमणकारीले मस्जिदको प्रवेशद्वारमा र दुई जनाले भित्र विष्फोट गराएका थिए । साप्ताहिक प्रार्थनाको समयमा मस्जिदमा उल्लेख्य सहभागिता थियो ।

तालिवानको विशेष सुरक्षा फौजले घटनास्थल घेरामा राखेको छ र घाइतेहरुको उपचारका लागि रगत आवश्यक परेकाले रक्तदान गर्न आह्वान गरिएको छ ।

बिष्पोटको जिम्मा भने हालसम्म कसैले लिएको छैन । एक साताअघि पनि शुक्रबारकै दिन उत्तरी कुन्दुज प्रान्तस्थित अर्को एक शिया मस्जिदमा विष्फोट हुँदा ५० जनाको ज्यान गएको थियो ।

उक्त बिष्पोटको जिम्मा भने आईएस–केले लिएको थियो । हिजोको बिष्पोट पनि आईएस–केले नै गराएको हुनसक्ने आशंका गरिएको छ ।

Back to top button