आजको साफ च्याम्पियनसिपको फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरी उपस्थिती रहला ?

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । साफमा पहिलो पटक फाइनलयात्रा तय गरेको नेपाली टोलीले भारतसँग उपाधि रक्षाका लागि भिड्दैछ ।

तर नेपाललाई ऐतिहासिक सफलता दिलाउँदै फाइनल सम्म पुर्‍याउन योगदान गरेको प्रशिक्षक अब्दुल्लाह अलमुताईरी भने फाइनलमा उपस्थित हुन पाउने कि नपाउने भन्ने अन्यौल देखिएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई प्रतियोगिताको लिग चरणका बेला दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उहाँमाथि आजको फाइनल खेलमा प्रतिबन्ध लगाएको छ ।

साफले तयार पारेको प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड खाएको प्रतिबन्ध खेलाडीलाई मात्र लाग्ने उल्लेख छ । यद्यपी खेलमा रातो कार्ड पाएमा भने अफिसियलले पनि अर्को खेल गुमाउने नियमावलीमा उल्लेख छ ।

तर साफले अलमुताइरीले दुई फरक खेलमा पहेंलो कार्ड खाएको कारण देखाउँदै प्रतिबन्ध हुने लेख्दै पत्राचार गरेको छ, जुन नियम विपरित छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसबारे पत्राचार पनि गरिसकेको छ । एन्फाले प्रतियोगिता नियमावली अनुसार अलमुताइरीलाई प्रतिबन्ध लगाउन नपाउने जनाएको छ । यद्यपी त्यस बिषयमा कुनै जवाफ आइनसकेको बताइएको छ ।

Back to top button