साफ च्याम्पियन बन्ने नेपालको चाहना अधुरै

विराटनगर । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपालको उपाधि जित्ने चाहना अधुरै रहेको छ । माल्दिभ्सको राधानी मालेमा गएराती सम्पन्न फाइनल खेलमा नेपाल ३ शुन्यको अन्तरमा पराजित बनेसँगै उपाधि जित्ने चाहना अधुरै रहेको हो ।

फाइनल खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुमा नै भारतले एक मिनेटको समयभित्रै लगातार दुई गोल गरेपछि नेपाल दवावमा पर्‍यो ।

खेलको ४९औं मिनेटमा सुनिल क्षेत्रीको प्रहारले जाली चुम्यो भने त्यसको एक मिनेट वित्न नपाउँदै सुरेश सिंह वाङजेमको गोल गरेपछि भारतको अग्रता दोब्बर बन्यो ।

खेलको इन्जुरी टाइममा साहल अब्दुल समदले गोल गरेपछि नेपाली ३ शुन्यको गोल अन्तरका साथ उपबिजेता बन्न पुग्यो । नेपालमाथि हावी भएको भारतले नेपाली पोष्टमा १९ पटक प्रहार गरेको थियो ।

जसमध्ये ८ वटा सही दिशामा थियो । नेपालले जम्मा ६ पटक भारतीय पोष्टमा प्रहार गरेको थियो ति मध्ये एउटा मात्र सही दिशामा थियो ।

यसअघि दुई टोलीबीच भएका २२ खेलमा भारतले १५ मा जीत हासिल गरेको थियो भने नेपालले मात्र २ खेलमा जीत हासिल गरेको थियो । ५ खेल बराबरीमा सकिएका थिए ।

नेपालले पछिल्लो पटक भारतलाई सन् २०१३ मा साफमा २–१ ले हराएको थियो । त्यसपछि सन् १९९३ मा ढाकामा नेपाल पेनाल्टीमा विजयी भएको थियो ।

योसँगै अब्दुल्लाह अलमुताइरीको नेपालको मुख्य प्रशिक्षकका रुपमा अन्तिम खेलमा वियोगान्त अन्त्य भएको छ । यसअघि नै फाइनल खेल आफ्नो लागि अन्तिम हुने बताउनुभएका अलमुताइरी फाइनल खेलमा निलम्बनका कारण टचलाइनमा उपस्थित हुन पाउनुभएन ।

नेपालले साफमा खेलेको चार खेलमध्ये २ खेलमा जित हात पारेको थियो भने एक खेल बराबरीमा रोकिएको थियो । यसअघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो ।

नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै नेपाल फाइनल प्रवेश गरेको थियो । उता भारत भने २ खेलमा बराबरी र २ खेलमा जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।

Back to top button