प्रेमीसँगको मिलेर श्रीमानको हत्या

धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा एक महिलाले प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गरेको पाइएको छ ।

कैलालीको धनगढीमा मृत फेला परेका युवकको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–७ का २५ वर्षीय रमेश चौधरीको हत्या भएको आरोपमा प्रहरीले मृतककी श्रीमतीसहित चार जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार शुक्रबार साँझ घरबाट निस्किएका रमेशलाई हिजो बिहान घर नजिकको खुटिया खोला छेउको चौरमा मृत अवस्थामा भेटिएको थियो ।

प्रहरीका अनुसार रमेशकी श्रीमती र स्थानीय विष्णु चौधरीबीच प्रेम सम्बन्ध थियो। सोही विषयमा विवाद बढ्दै गएपछि प्रेमी विष्णुसँगै मिलेर श्रीमानको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिनुभयो ।

प्रहरीले पक्राउ गरेका अन्यको नाम भने खुलाएको छैन। घटनाको विवरण आजै सार्वजनिक गर्ने प्रहरीको तयारी छ।

Back to top button