एकिकृत समाजवादी भित्र असन्तुष्टि बढ्दै, एमालेमा नै फर्किने क्रम बढ्दो

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीलाई पूर्णता दिएर अन्तर पार्टी निर्देशन जारी भएसँगै असन्तुष्टी बढेको छ ।

केन्द्रीय कमिटीमा केही नेताले आफ्ना मान्छे टिपेर ल्याएको र मापदण्ड तथा विधि पद्दतिलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टी बढ्न थालेको हो ।

हिजो तत्कालीन नेकपा र एमालेमा केपी ओलीले विधि पद्दति र मापदण्ड नमानेको भनेर विद्रोह गरेका नेताहरूले नै नेकपा एसमा व्यक्तिवादी प्रवृति देखाएको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताउनुभएको छ ।

नेकपा एसका अन्य सबै जनवर्गीय संगठनका अध्यक्षहरु पार्टीको केन्द्रीय सदस्य मनोनित गरिएपनि अनेरास्ववियूका अध्यक्षलाई भने केन्द्रीय सदस्य नबनाई जुनियर र नेताका पिएहरूलाई पार्टीको केन्द्रीय कमिटीमा मनोनित गरिएको भन्दै विरोध भएको छ ।

पराजुलीले भने आफू केन्द्रीय कमिटीमा नपरेकोमा कुनै गुनासो नरहेको तर केही नेताले माधव नेपाललाई समेत गुमराहमा राखेर केन्द्रीय सदस्यहरूको छनौट गरेको बताउनुभयो । केन्द्रीय कमिटी सदस्यको चयनप्रति पार्टीका पदाधिकारीहरुले समेत असन्तुष्टी व्यक्त गरेका छन् ।

३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी गठन गर्दा विधि, पद्दति र मापदण्ड नबनाइएकोमा असन्तुष्टी बढेको नेताहरूले बताएका छन् ।

एमालेमै फर्किने क्रम बढ्दो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यवहारप्रति कटाक्ष गर्दै पार्टी विभाजन भएको एकिकृत समाजवादी भित्र यतिबेला चरम असन्तुष्टिहरु देखा पर्न थालेका छन् ।

हिजो पार्टी अध्यक्षको कार्यशैलीलाई अनेकन आरोप लगाउने माधवकुमार नेपालले एकिकृत समाजवादीमा त्यस्तै चरित्र देखाएको भन्दै तिब्र आलोचना शुरु भएको छ ।

नेकपा एमालेको महासचिव भएर १५ वर्ष पार्टीको नेतृत्व सम्हाल्नुभएका नेपालले नयाँ पार्टी खोल्नुको पछाडी नेतृत्वमै रहने एकमात्र उद्देश्य मात्र रहेको पार्टी छाड्दै एमालेमा फर्किनेहरुको बुझाई रहेको छ ।

नेतृत्वको क्षमता र अन्तरनिहित स्वार्थ बुझेपछि एमालेमा नै फर्किन मन लागेको एक नेताले प्रतिकृया दिनुभएको छ । त्यसो त अन्तरपार्टी संघर्षका क्रममा माधवकुमार नेपाललाई साथ दिँदै आउनुभएका धेरै नेताले पार्टी विभाजनको निर्णयलाई गलत भन्दै एमालेमै बस्ने निर्णय यस अघि नै गरिसक्नुभएको छ ।

त्यसयता पनि एस छाडेर एमालेमा फर्कनेहरुको क्रम क्रमशः बढ्दै गएको छ । पछिल्लो समय एमालेबाट राजीनामा दिनुभएका उपाध्यक्ष वामदेव गौतम पत्नी तुलसा थापामगरले नेकपा (एस) छाड्नुभएको छ ।

यस्तै नेता प्रदीप नेपालले पनि एसबाट बिदा लिएको घोषणा गरिसक्नुभएको छ । अखिल फोर्सका संयोजक रहनुभएका आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्र शाही एमालेमै फिर्ता हुनुभएको छ ।

नेकपा (एस) काभ्रेकी उपसचिव भक्तकुमारी लामा पनि एमालेमै फर्कनुभएको छ । एस निकट युवा संघकी वरिष्ठ उपाध्यक्ष क्रान्ती बुर्लाकोटी एमालेमै फर्किनुभएको छ ।

नेकपा समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका स्वकीय सचिवसहित छत्रेश्वरी गाउँपालिकाका सवै नेता कार्यकर्ता एमालेमै फर्किनुभएको छ ।

ज्वालाका स्वकीय सचिव रहनुभएका समाजवादीका जिल्ला कमिटी सदस्य एवं युवा संघ केन्द्रीय सचिवालय सदस्य खड्क शाही, जिल्ला कमिटी सदस्य हिरा चन्द र युवा संघ सल्यानका कोषाध्यक्ष सुरेन्द्र चन्दसहित समाजवादीतिर लागेका सवै नेता कार्यकर्ता एमालेमै फर्किनुभएको हो ।

Back to top button