पथरीशनिश्चरेमा पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने

मोरङ । मोरङको पथरीशनिश्चरेमा पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता—२०२१ हुने भएको छ ।

थ्री रिभर्स एफ.सी. अमेरिकाको आयोजनामा कात्तिक १० गतेदेखि पथरीशनिश्चरे—१० स्थित पथरीशनिश्चरे रंगशालामा फुटबल प्रतियोगिता हुने आयोजक समितिको खेल संयोजक गणेश थक्लुङ लिम्बूले बताउनुभयो ।

प्रतियोगितामा मोरङको पाँच, झापाको एक, सुनसरीको एक र भुटानी शरणार्थीको एक गरी ८ टिम सहभागि हुने आयोजक समितिका सदस्य सुमन कुरुम्बाङ्ग लिम्बूले बजानकारी दिनुभयो ।

झापाको शिवशताक्षी नगर फुुटबल टिम, सुनसरीको राष्ट्रिय जागृति फुटबल टिम इटहरी, मोरङको पथरी शनिश्चरे फुटबल टिम, लेटाङ, विराटनगर ढाट फुटबल टिम, भाउन्ने फुटबल टिम, बेलबारी फुटबल टिम र भुटानी ब्वाइज क्लबबीच प्रतिष्पर्धा हुने भएको हो ।

प्रतियोगितामा नेपालको ए डिभिजनमा खेल्ने खेलाडिहरुको सहभागिता रहने आयोजक समितिका बिक्की राईले बताउनुभयो ।

प्रतियोगिताको प्रथम र दोस्रो हुने फुटबल टिमलाई क्रमशः एक लाख एक हजार र ५१ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

यसैगरी दैनिक म्यान अफ द म्याच खेलाडीलाई २५ सय, बिधागतरुपमा बेष्ट गोल रक्षक, बेष्ट डिफेन्डर, मिड फिल्डर, फर्वाड, हाइ स्कोररलाई क्रमस पाँच हजार र म्यान अफ द टुर्नामेन्टलाई नगद १० हजार र ट्रफी प्रदान गरिने छ ।

आयोजक थ्री रिभर्स फुटबल क्लब भुटान र नेपालबाट अमेरिका पुगेका नेपालीहरुले स्थापित गरेको क्लब हो । पिट्सबर्ग अमेरिकाको एउटा क्षेत्र हो ।

थ्री रिभर्सले अमेरिकामा पनि नेपालीहरु बीच यसैगरी फुटबल प्रतियोगिता गरेको अर्जुन बिष्टले बताउनुभयो । नेपालमा नेपाली र भुटानी शरणार्थीवीच सम्बन्ध सुमधुर होस र फुटबल खेलको बिकास गर्ने उद्देश्यले वार्षिक रुपमा प्रतियोगिता गराउने योजनामा रहेको उहाँले जानकारी दिनुभयो ।

खेलको सम्पूर्ण खर्च मेघ सुबेदीको नेतृत्वमा रहेको सेजल एण्ड सिस्टर र थ्री रिभर्सका सुदेश तिवारी, कमल सुब्बा, किरण थापा र अर्जुन बिष्टले गर्ने हुनुभएको छ ।

नेपालमा खेलको संयोजन गणेश थक्लुङ लिम्बू, सुमन कुरुम्बाङ लगायतले गर्नुहुनेछ । खेलको जिम्मा पाउनुभएका थक्लुङ गीतकार तथा सामाजिक काममा सक्रिय रहँदै आउनुभएको छ । प्रतियोगिता सम्पन्न गर्न सात लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ ।

Back to top button