दोस्रो हाफमा तालमेल नमिल्दा लक्ष्य पूरा हुन सकेन : कप्तान चेम्जोङ

काठमाडौं । नेपाली फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले फाइनल खेलको दोस्रो हाफमा तालमेल नमिल्दा लक्ष्य पूरा हुन नसकेको बताउनुभएको छ।

माल्दिभ्समा सम्पन्न १३ औं संस्करणको साफ च्याम्पियनसिप प्रतियोगितामा सहभागी भएर विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले अहिले टोलीमा युवा जोस भएकाले आगामी दिनमा यो टोलीले नेपाली फुटबलमा अझै राम्रो नतिजा निकाल्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

शनिबार मालेमा भएको फाइनलमा भारतसँग ३–० ले पराजित भएसँगै नेपालले उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो । लिग चरणमा नेपालले आयोजक माल्दिभ्स र श्रीलंकालाई हराएको थियो ।

प्रतियोगितामा उपविजेता बनेको टोली आज स्वदेश फर्किएको छ । पहिलो पटक फाइनल खेल्दै इतिहास बनाएको उपविजेता टोलीलाई विमानस्थलमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघका पदाधिकारीले स्वागत गर्नुभएको थियो ।

विमानस्थलमा टोलीलाई स्वागत गर्न पुग्नुभएका युवा तथा खेलकुद मन्त्री गहतराजले फुटबल अगाडि बढाउनका लागि सरकारले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

यस अघि राजीनामा दिइसकेका प्रशिक्षक अबदुल्लाह अलमुताइरी भने नेपाल फर्कनुभएन । उहाँ बाहेक फर्किएको टोलीलाई स्वागत गर्न पदाधिकारीबाहेक फुटबल समर्थकहरू समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

खेलाडीहरुको हौसला नाराबाजी र बाजागाजा समेत बजाइएको थियो ।

Back to top button