वाणिज्य बैंकहरुद्धारा निक्षेपमा ब्याजदर बृद्धि

काठमाडौं । अधिकांश वाणिज्य बैंकले बचत तथा मुद्दती खातामा दिने ब्याजदर बृद्धि गरेका छन् । लामो अवधिका लागि स्रोत सुनिश्चित गर्न मुद्दती खातामा भने ११ प्रतिशतभन्दा बढी ब्याजदर दिने घोषणा बैंकहरुले गरेका छन् ।

आजदेखि लागू हुनेगरी बचत तथा मुद्दती खातामा ब्याजदर बढेको सूचना बैंकहरुले सार्वजनिक गरेका छन् । लगानीयोग्य रकमको अभावपछि बैंकहरुले निक्षेपमा ब्याजदर बढाएका हुन् ।

पछिल्ला साता कर्जा प्रवाह निक्षेपभन्दा उच्च दरले बढेको छ, जसले गर्दा लगानीयोग्य रकमको अभाव देखिएको छ । असोजको सुरुआती तीन सातामा वाणिज्य बैंकहरुमा ८४ अर्ब निक्षेप थपिँदा १ खर्ब ११ अर्ब कर्जा प्रवाह भएको नेपाल बैंकर्स एसोसिएसनको तथ्यांक छ ।

असोज २२ गतेसम्म आउँदा वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ५५ अर्ब पुगेको छ भने कुल कर्जा ३९ खर्ब ८३ अर्ब पुगेको छ । कोरोनाको असर न्यून हुँदै गएकाले कर्जाको माग अझै बढ्ने अनुमानपछि बैंकहरुले स्रोत जुटाउन निक्षेपमा ब्याजदर बढाएका हुन् ।

एनआइसी एसिया बैंकले व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ११ दबमलव १० प्रतिशत ब्याज तोकेको छ। सुपर चमत्कारिक मासिक निक्षेप खातामा बैंकले ११ दशमलव १० प्रतिशत ब्याजदर तोकेको छ ।

त्यस्तै १ देखि १० वर्षसम्मका लागि सर्वश्रेष्ठ मुद्दती खातामा बैंकले त्यति नै ब्याजदर तोकेको छ । सिभिल बैंकले व्यक्तिगत मुद्दतीमा १ वर्ष बढी अवधिका लागि १० दशमलव ११ प्रतिशत ब्याजदर तोकेको छ ।

एनएमबिले ३ महिनाभन्दा बढी अवधिका लागि व्यक्तिगत मुद्दतीमा ९ दशमलव ५७ प्रतिशत ब्याजदर तोकेको छ । कुमारी बैंकले ६ महिनाभन्दा बढी अवधिको लागि व्यक्तिगत मुद्दतीमा ९ दशमलव ८ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ ।

सिद्धार्थ बैंकले ३ महिना बढी अवधिको लागि १० दशमलव ३ प्रतिशत तोकेको छ ।

Back to top button