महाकाली नदिमा आएको बाढीले बस्ति डुबानमा

महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव उच्च बनेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका क्षेत्रका बस्ती डुबानमा परेका छन्।

अविरल वर्षासँगै महाकाली नदीको पानीको बहाव उच्च भएपछि तटीय क्षेत्रका बस्तीमा बाढीको पानी पसेर डुबान भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार भीमदत्त नगरपालिकाको महाकाली तटीय क्षेत्रका ब्रह्मदेवदेखि झोलुङ्गे पुलसम्मको बस्तीमा बाढीको पानी पसेको छ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रका तटीय क्षेत्रका बस्ती समेत जलमग्न भएका छन्। बाढी प्रभावति क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली राती देखि नै उद्धारमा खटिएको छ।

पानी घरभित्र पस्दा खाद्यान्नलगायतमा क्षति पुगेको छ। प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित क्षेत्रमा सार्ने कार्य भैरहेको छ। भीमदत्त नगरपालिकाको ब्रह्मदेव, ऐरी, ओदाली र दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर, शान्ति टोलमा गरी २०० भन्दा बढी घर डुबानमा परेका छन्।

महाकाली नदीको बाढीको पानीले कालोपत्रे गरिएको पहुँच मार्गमा कटान गर्ने कार्य जारी राखेको छ। बिहान ६ बजेको मापनअनुसार महाकाली नदीमा पानीको बहाव ४ लाख ३७ हजार ३१३ क्युसेक पुगेको छ।

महाकाली नदीमा पानीको बहाव बढेसँगै नदीको सीमा पुल वनवसाको आवतजावतमा रोक लगाइएको छ। कञ्चनपुरको मध्य माग भएर बग्ने दोदा ‘मछेली’ नदीको बहाव समेत उच्च भएको छ।

नदीको सूचना अवलोकनकर्ता पल्टा खुनाका अनुसार नदीको पानी चेतावनी तह पार गरेको छ। नदीको चेतावनी तह चार मिटर रहेको छ। नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन जानकारी दिने कार्य भैरहेको छ।

चुरे क्षेत्र भएर नदीहरुको बहाव समेत बढेको छ। नदीमा पानीको बहाव बढे संगै जग्गा कटानको कार्य समेत तीव्र रुपमा भैरहेको छ।

Back to top button