बझाङको थलारामा पहिरोपरि २३ जना बेपत्ता, सयौं विस्थापित

काठमाडौं । बझाङको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । पहिरोमा परि गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना बेपत्ता भएका हुन् ।

गाँउभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाँउका स्थानीय विस्थापित हुन पुगेका छन् । पहिरोले ७ घर पुरिएका छन् ।

तल्लो डिख्ला र माथिल्लो डिख्ला गाँउका स्थानीय विस्थापित भई त्रिभुवन मा.वि. महेन्द्रधारमा आश्रय लिइरहेको प्रहरीले जानकारी दिएको छ ।

गाँउ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसेका छन् । सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन ।

बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले जानकारी दिनुभएको छ ।

Back to top button