भारी वर्षाका कारण विराटनगर जलमग्न, विमानस्थल डुबानमा, सयौं परिवार विस्थापित

विराटनगर । भारी वर्षासँगै आएको बाढीले विराटनगर जलमग्न भएको छ । बाढीका कारण सयौं परिवार विस्थापित भएका छन् ।

विराटनगरका केशल्या, सिंगिया, धुदुवा लगायतका खोलाको बाढी बस्तिमा पस्दा सयौं घर परिवार विस्थापित भएका छन् । धानबालिमा पूर्ण रुपमा क्षति पुगेको छ । काटेको धान कृषकले भित्र्याउन पाएनन् भने काट्न बाँकी रहेका धान डुबानले नष्ट भएको छ ।

बाढीकै कारण विराटनगर विमानस्थल समेत डुबान भएको छ । विमानस्थल डुबानभएसँगै काठमाडौं– विराटनगरका उडान सवै रद्ध भएका छन् । विराटनगर विमानस्थल जलमग्न छ ।

विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलले वर्षा र बाढीका कारण उडानहरु प्रभावित भएको जानकारी दिनुभएको छ । खराब मौसमका कारण हिजो पनि अधिकांश आन्तरिक उडानहरु रद्ध भएका थिए ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि पूर्वी नेपालमा भारी वर्षाको सम्भावना छ । शुक्रबारसम्म देशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Back to top button