विराटनगर विमानस्थल डुबानमा (तस्बिरहरु)

विराटनगर । काठमाडौंबाहिरको भैरहवापछि सर्वाधिक उडान हुने विराटनगर विमानस्थल सोमबारदेखि अबिरल बर्षाले डुबान भएको छ । वर्षाको पानीका साथै केसलीया र बस्ता खोलाको पानी पसेर विमानस्थलको सबै क्षेत्र डुबान भएको हो । बुद्ध एयरलायन्स र श्री एयरलायन्सको दुई वटा विमानसमेत डुबानमा परेको छ ।

नागरिक उड्डयन प्राधिकरण विराटनगरका प्रमुख उत्सव खरेलले विमानस्थलभित्र ३ देखि ५ फिटसम्म पानी बगिरहेको बताउनुभयो । ‘विमानस्थल प्रवेश गर्ने सडकदेखि धावनमार्ग, जहाज पार्किङ क्षेत्र, टर्मिनल भवन, कर्मचारी क्वार्टरलगायत आसपासका क्षेत्र जलमग्न छ,’ खरेलले भन्नुभयो, ‘पानीको निकास नभएसम्म उडान हुन सक्ने अवस्था छैन ।’

विमानस्थलका प्राविधिक अधिकृत रामनिवास यादवका अनुसार विमानस्थलस्थित दुई वटा एक्स–रे मेसिन र सिभिआर रुममा र जेनेरेटरमा समेत पानी पसेको छ । यी सबै उपकरण पानी पसेर बिग्रिएको उहाँको भनाई थियो ।

खराब मौसमका कारण बुद्धको एटीआर र श्री एयरलायन्सको सीआरजे विमान मंगलबार राति काठमाडौं फर्किन नसकेर ‘नाइट–स्टपमा’ मा परेका थिए ।

खरेलले जहाज पार्किङ क्षेत्रमा पानीको बहाब बढ्दै गएपछि कम भएको धाावनमार्ग क्षेत्रमा सारिएको बताउनुभयो । विराटनगरबाट दैनिक आउने र जाने गरी ४२ वटा उडान भइरहेको छ । विराटनगर विमानस्थलबाट दैनिक १ हजार बढी यात्रु हवाइ यात्रा गर्दै आएका छन् ।

Back to top button