प्रदेश १ मा बाढी पहिरोबाट ६२ जनाको मृत्यु, १३ जना बेपत्ता

विराटनगर । प्रदेश १ मा बाढी पहिरोमा परी ६२ जनाको मृत्यु भएको छ। बेमौसमी वर्षाका कारण केही दिनअघि गएको बाढी पहिरोमा परी २० जना घाइते भएका छन् भने १३ जना बेपत्ता भएका छन्।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार बाढीले सयौं घर डुबानमा परेका छन्। बाढी पहिरोले सबैभन्दा बढी पाँचथरमा मानवीय क्षति भएको छ।

प्रवक्ता राईका अनुसार कुम्मायक गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकामा पहिरोले घर पुरिँदा २८ जनाको मृत्यु, १० जना घाइते र ६ जना बेपत्ता भएका छन्।

यस्तै इलाममा १४ जनाको मृत्यु‚ पाँच जना घाइते र एक जना बेपत्ता भएका छन्। इलामको फाकफोकथुम गाउँपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा बाढी पहिरोले मानवीय क्षति पुर्‍याएको छ ।

यसैगरि धनकुटाको चौबिसे गाउँपालिकामा बाढी पहिरोका कारण सातजनाको मृत्यु र पाँचजना घाइते भएका छन्। सुनसरीको धरान उपमहानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा आठजनाको मृत्यु र तीनजना बेपत्ता भएका छन्।

मोरङको विराटनगर महानगरपालिका–१२ मा बाढीकै कारण एक‚ भोजपुर गाउँपालिका–६ मा राम प्रसाद राई र उदयपुरको त्रियुगा नगरपालिका र उदयपुरगढी गाउँपालिकामा बाढीका कारण एक–एक जनाको मृत्यु भएको प्रवक्ता राईले जनाकारी दिनुभयो ।

बाढीकै कारण सयौं घर डुबानमा पर्दा चार हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। प्रवक्ता राईका अनुसार प्रदेशमा पाँच हजार ९५ जना प्रहरी जनशक्ति उद्धार कार्यमा परिचालन भएका छन्।

Back to top button