प्रदेश १ सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश, आइतबार मतदान हुने

विराटनगर । प्रदेश १ सरकारका मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गर्नुभएको छ । उक्त प्रस्तावमाथि आइतबार मतदान हुने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो।

संसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बाढीपहिरोका कारण भएको धनजनको क्षतिबारे सदनलाई जानकारी दिनुभयो । गत असोज २५ गते संवैधानिक प्रावधान अनुसार उहाँले विश्वासको मत चाहिएको प्रस्ताव संसद् सचिवालयमा पठाउनुभएको थियो ।

पार्टी विभाजनपछि सत्तारूढ एमालेका ४१ सांसद छन् । एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा संख्या ३९ मात्रै हुन्छ । संसदमा सामान्य बहुमत सिद्ध गर्न ४७ मत आवश्यक पर्छ ।

विपक्षी गठबन्धन भने ५० मत संख्या साथमा लिएर नयाँ सरकार बनाउने तयारीमा जुटेका छन् । विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मन्चका १ गरी ५० सांसद छन् ।

Back to top button