मोरङमा खाम्बातिमको जनगणना अभियान

जातिमा राई, भाषामा चाम्लिङ र धर्मको महलमा किरात लेख्न अनुरोध

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरमा किँरात राई चाम्लिङ खाम्बातिमको जनगणना अभियान सञ्चालन भइरहेको छ । आज मोरङको पथरीशनिश्चरे र बेलबारीमा जनगणना सम्बन्धी सचेतना अभियान भएको हो ।

चाम्लिङभाषी राई समुदायको संस्था किँरात राई चाम्लिङ खाम्बातिमले आसन्न १२ औं राष्ट्रिय जनगणनामा जात जातिको महलमा राई, पुर्खा र मातृभाषाको महलमा चाम्लिङ, दोस्रो भाषामा राई वा आदिबासी समुदायकै कुनै भाषा र धर्मको महलमा किँरात लेख्न प्रदेशब्यापी अभियान चलाइरहेको छ ।

चाम्लिङ भाषाको सहि तथ्याङ्क उतार्न अभियान्ता खटाउनेलगायतको कार्यक्रम अघि बढाइएको खाम्बातिमका केन्द्रीय अध्यक्ष युवराज राईले बताउनुभयो ।

पथरीशनिश्चरे नगरको पथरी बहुमुखी क्याम्पसमा आज भएको सचेतना कार्यक्रममा संविधानसभा सदस्य चण्डीप्रसाद राई, प्रचार विभाग प्रमुखसमेत रहेका यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राई, खाम्बातिम पूर्ब महासचिव सालिक सातसक राई, सुनसरी जिल्ला अध्यक्ष आशकुमार राई, मोरङ जिल्ला अध्यक्ष कुमार चाम्लिङ राई, पूर्ब केन्द्रीय सदस्य सन्त राईलगायतले जनगणना बारे धारणा राख्नुभएको थियो ।

अघिल्लो गणनामा चाम्लिङभाषि राईहरु ७५ हजार ६१ रहेको तथ्याङ्क छ । देशभर एक लाख २० हजार ७९१ राई भाषिको तथ्याङ्क थियो । पथरीशनिश्चरेमा तीन हजार १८० जना राई भाषि रहेको तथ्याङ्क छ । राई भन्ने छुट्टै भाषा हुँदैन । यद्यपि तथ्याङ्क बिभागले हुँदै नभएको भाषा राई भनेर लिष्ट गरेको हो ।

अघिल्लो गणनाको जिल्लाहरुको भाषिक तथ्याङ्क हेर्दा राई लेख्नेहरु अधिकांश चाम्लिङ रहेको खाम्बातिम केन्द्रीय अध्यक्ष युवराज राईको तर्क छ । त्यही भएर चाम्लिङ समुदायको सहि तथ्याङ्कको लागि मेहनत गर्नु परेको अध्यक्ष राईले बताउनुभयो ।

केन्द्रीय तथ्याङ्क बिभागले यही कार्तिक २५ देखि मंसिर ८ गते सम्म १२ औं राष्ट्रिय जनगणना गर्दैछ । त्यस अभियानमा सहि तथ्याङ्कको लागि खाम्बातिम केन्द्रीय टोली १ नम्बर प्रदेशको हरेक जिल्ला, नगर गाउँदेखि टोलटोलसम्म खटिरहेको बताइएको छ ।

अभियानकै सिलशिलामा मोरङको पथरीशनिश्चरे नगरमा शक्तिकुमार राईको अध्यक्षतामा खाम्बातिम गठन भएको छ । भेलाले सचिवमा बुद्धराज राई, कोषाध्यक्षमा गजेन्द्र राई सदस्यमा मानबहादुर राई, बिकास राई, कुलमान राई, जुद्धमान राई, प्रताप राई, दिपेन राई, लिला राई र पार्बति राई सदस्य रहेको ११ सदस्यीय नगर समिति गठन भएको छ ।

त्यसैगरी बेलबारीमा पनि आजै नगर समिति बनेको सालिक राईले बताउनुभयो । मोरङको कानेपोखरी, लेटाङ, उर्लाबारी, विराटनगरलगायत क्षेत्रमा पनि अभियान चलाइएको राईले बताउनुभयो ।

Back to top button