मुगु बस दुर्घटनामा परी मृत्यु हुनेका परिवारलाई एक लाख दिइने

सुर्खेत : कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्ले असोज २६ गते मुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रूपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा हिजो बसेको बैठकले दुर्घटनाका पीडित परिवारलाई राहत दिने निर्णय गरेको हो।मुगुसहित प्रदेशका अन्य जिल्लामा भएका सवारी दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई पनि परिषद् बैठकले एक लाख रूपैयाँ राहत दिने निर्णय गरेको छ।

बैठकले कोभिड–१९ को कारण मृत्यु भएका मृतकका परिवारलाई राहत वितरणसम्बन्धी कार्यविधिबमोजिम भुक्तानी गर्न निर्देशन दिएको छ।

हालसम्म २८६ लाई दुई करोड ८६ लाख रूपैयाँ भुक्तानी भइसकेको तथा वितरण गर्न बाँकीको हकमा जिल्ला प्रशासन कार्यालयबाट कागजात यकिन गरी हकवालाको बैंक खातामा रकम पठाउन आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशन दिएको मुख्यमन्त्री कार्यालयको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ।

Back to top button