देशभर आज एमाले वडा अधिवेशन हुँदै, पार्टी अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा तहको अधिवेशन हुँदैछ। देशभर हुने वडा अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी छ।

सबै जिल्लामा वडा तहको अधिवेशनको तयारी पुरा भएको छ। यद्यपी हालैको बाढी तथा पहिरोका कारण प्रभावित भएका जिल्लाहरुमा भने केही समयपछि अधिवेशन हुने एमालेले जनाएको छ।

एमालेको राष्ट्रिय महाधिवेशनअन्तर्गत कात्तिक ९ गतेका लागि पालिका तहको अधिवेशन तोकिएको छ। वडा अधिवेशन सकिएलगत्तै पालिका अधिवेशन हुनेछ।

मङ्सिर १० देखि १२ गतेसम्म एमालेको १० औँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ। विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकाहरु महाधिवेशन प्रतिनिधि बन्न योग्य छन्।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न एमालेले कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

Back to top button