प्रदेश १ मा विश्वासको मतको प्रस्तावमा आज मत विभाजन हुने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मतका लागि शुक्रबार प्रदेशसभामा पेश गरेको प्रस्ताव आइतबार मत विभाजनबाट टुंगिने भएको छ । प्रदेशसभा सचिवालयले मुख्यमन्त्री आचार्यले सदनमा पेश गरेको प्रस्तावमाथि छलफल तथा मतविभाजन हुने कार्यसूची समेत सार्वजनिक गरिसकेको छ ।

संविधानको धारा १८८(२) तथा प्रदेशसभा नियमावली २०७४ को नियम १२८ (४) बमोजिम मुख्यमन्त्री आचार्यले सभामा पेश गरेको प्रस्तावमाथि छलफल एवं मतविभाजन हुने कार्यसूची प्रदेशसभाको वेभसाइटमा सार्वजनिक गरिसकेको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले सरकारले गरेको कामको बारेमा सदनलाई जानकारी गराएर विश्वासको मतको प्रस्ताव सदनमा छलफलका लागि प्रस्तुत गर्ने तयारी गर्नुभएको छ । प्रस्तावमाथि छलफलपछि मतविभाजन प्रक्रियाबाट आएको परिणाम स्विकारेर अघि बढ्ने मुख्यमन्त्री आचार्यले बताउनुभएको हो ।

मुख्यमन्त्री आचार्यले आफूलाई विश्वासको मत दिनका लागि प्रमुख प्रतिपक्षी कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकिकृत समाजवादी), जनता समाजवादी पार्टीका प्रदेश सांसदहरुलाई रिझाउन पटक पटक फोनलगायतमाध्यमले सम्पर्क गरिरहनुभएको छ ।

कांग्रेसका उपनेता हिमाल कार्कीले मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि आफूलगायतका आफ्ना दलका प्रदेश सांसदहरुलाई फोन गरेको बताउनुभयो । कांग्रेसका नेता राजिव कोइरालाले आफ्ना पार्टी फुट्नबाट जोगाउन नसक्नेले प्रमुख प्रतिपक्षी दलका सांसदलाई जस्तोसुकै प्रलोभन देखाए पनि प्रभावमा पार्न नसक्ने बताउनुभयो । आफ्नो दलका सांसदलाई समेट्न नसक्नेले अन्य दलको सांसदको समर्थन पाउने आश गर्नु गलत हुने उहाँको भनाई थियो ।

मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नु पर्ने संवैधानिक व्यवस्था विपरित ४३ औं दिनमा शुक्रबार प्रस्ताव पेश गर्नुभएको छ ।

निर्वाचन आयोगले प्रदेश १ का एमालेका १० जना प्रदेश सांसद नेकपा (एकिकृत समाजवादी)मा गएको निर्णय भदौ २५ गते गरेको थियो । उक्त निर्णय अनुसार मुख्यमन्त्रीले असोज २३ गतेभित्र नै संवैधानिक व्यवस्था अनुसार प्रदेशसभाबाट विश्वासको मत लिनु पर्ने थियो । एकल बहुमत रहेको एमाले विभाजनपछि मुख्यमन्त्री आचार्य अल्पमतमा पर्नुभएको छ ।

मुख्यमन्त्री आचार्यविरुद्ध कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गठबन्धन बनाएका छन् । मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक हुन्छ । ९२ सदस्यीय प्रदेशसभामा सभामुखसहित एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकिकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १/१ जना प्रदेश सांसद छन् । एमभालेका प्रदेश सांसद गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागज मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् ।

Back to top button