समीक्षाको स्पष्टीकरणः पलजीले अभिभावकको रुपमा माया गर्नुहुन्छ

काठमाडौं । गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहसँग आफ्नो कुनैपनि सम्बन्ध नरहेको बताउनु भएको हो । केही दिनदेखि मिडिया आफ्नो र पलकाबीच सम्बन्ध रहेको भन्दै विभिन्न समाचार बन्न थालेपछि उहाँले यो स्पष्टीकरण दिनुभएको छ ।

पलसँग जोडेर आफ्नो विषयमा बनाइएको समाचारले आफूलाई निकै दुखी बनाएको उहाँले सामाजिक सञ्जालमार्फत बताउनु भएको हो । उहाँले पल आफ्नो अभिभावक भएको समेत जिकिर गर्नुभएको छ।

‘पछिल्लो समय मेरो बारेमा नायक पल शाहज्यू सँग जोडेर हुँदै नभएको कपोकल्पित समाचारहरु आएका छन् । यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उहाँले अगाडि लेख्नु भएको छ, ‘समाचारमा मेरो र पलजीको सम्बन्धलाई तोडमोड गरेर आएका छन् ।

जसले मेरो चरित्र हत्या भएको छ । यसका साथसाथै पलजीको करिअरमाथि आँच आउने किसिमले सस्तो प्रचारबाजी गरिएको छ । यसो नगर्नुहुन अनुरोध गर्दछु ।’

उहाँले अगाडि भन्नु भयो , ‘समाचारले हामीलाई सामाजिक र चारित्रिक रुपमा निकै नै असर पुर्याएको छ । यस कुराप्रति म र मेरो परिवार खेद प्रकट गर्दछौ ।’ उहाँले केही सञ्चारमाध्यमले बनाएको समाचारप्रति तीव्र असन्तुष्टि जनाउनु भएको छ’

पल र समीक्षाको प्रेम सम्बन्धपछि विवाद उत्पन्न भएको भन्दै समाचार बाहिरिएपछि उहाँले यस्तो स्पष्टीकरण दिनु भएको हो ।

Back to top button