प्रदेश १ सभा बैठक सूचना टाँसेर कार्तिक १५ गतेसम्मका लागि स्थगित

विराटनगर । प्रदेश १ सभा बैठक सूचना टाँसेर कार्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ । आइतबार साढे १२ बजेका लागि बोलाइएको बैठक सत्तारुढ दल एमाले र प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् बैठक स्थगित गर्न निवदेन दिएपछि कात्तिक १५ गते सोमबार दिउँसो साढे १२ बजेसम्मका लागि स्थगित गरिएको हो ।

मुख्यमन्त्री भीम आचार्यले शुक्रबारको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथि छलफल गरी मत विभाजन प्रक्रियाद्वारा टुंगियाउने कार्यसूची थियो । मुख्यमन्त्रीले नेतृत्व गरेको दल विभाजन भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

सुरुमा कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बाढी पहिरो निरीक्षणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण रहेको र त्यसमा सांसदहरु सहभागी हुन पर्ने भन्दै आइतबारको बैठक स्थगित गर्नका लागि माग गरेका थिए । प्रधानमन्त्री देउवा प्रदेश १ स्थित बाढी पहिरो प्रभावित क्षेत्र निरीक्षणका लागि आउनुभएको थियो ।

त्यसपछि सत्तारुढ एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पनि पार्टीको ९ गते पालिका अधिवेशन, १० र ११ गते स्थायी कमिटी बैठक र १२ र १३ गते केन्द्रीय कमिटी बैठक भएकोले १४ गते बाटोको म्याद राखेर १५ गते बैठक बोलाउने गरी स्थगित गर्न माग गर्दै प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराउनुभएको थियो ।

दुवै दलको लिखित रुपमा बैठक स्थगित गर्न माग गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक बोलाएका थिए । उक्त बैठकको बेला कांग्रेस संसदीय दलको बैठक बसिरहेकोले कांग्रेस अनुपस्थित रहयो ।

बैठकपछि प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बैठक बस्ने मिति परिवर्तन भएको सूचना निकाल्नुभएको थियो ।

Back to top button