कांग्रेसको पार्टीभित्रको अन्तरविरोधले मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारको आयु लम्बियो

सभापति देउवाले प्रदेश १ सरकारको नेतृत्वको विषयमा सही निर्णय नलिए एमालेको समर्थनमा कांग्रेसको एकल सरकार बनाउने आन्तरिक तयारी

विराटनगर । कांग्रेस पार्टीभित्रको राजनीतिक अन्तरविरोधले प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकारको आयु केही समय लम्बिएको छ । सत्तारुढ दल एमाले र प्रमुख प्रतिपक्षी कांग्रेसले बैठक स्थगितका लागि निवदेन दिएपछि सभामुख प्रदिपकुमार भण्डारीले कात्तिक १५ गते सोमबार दिउँसो १२ः३० बजेसम्मका लागि स्थगित गर्नुभएको हो ।

मुख्यमन्त्री भीम आचार्यले शुक्रबारको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथि छलफल गरी मत विभाजन प्रक्रियाद्वारा आइतबार टुंगियाउने कार्यसूची तय गरिएको थियो ।

सुरुमा कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बाढी पहिरो निरीक्षणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण रहेको र त्यसमा सांसदहरु सहभागी हुनु पर्ने भन्दै आइतबारको बैठक स्थगित गर्नका लागि प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएका थिए । प्रधानमन्त्री देउवा प्रदेश १ स्थित बाढी पहिरो प्रभावित क्षेत्र निरीक्षणका लागि आएका थिए ।

कांग्रेसले बैठक स्थगितका लागि निवेदन दर्ता गराएको सूचना पाएपछि सत्तारुढ एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पनि पार्टीको ९ गते पालिका अधिवेशन, १० र ११ गते स्थायी कमिटी बैठक र १२ र १३ गते केन्द्रीय कमिटी बैठक भएकोले १४ गते बाटोको म्याद राखेर १५ गते बैठक बोलाउने गरी स्थगित गर्न माग गर्दै निवेदन दर्ता गराएका थिए ।

सत्तारुढ दलको केन्द्रीय गठबन्धनले बागमति प्रदेशमा कांग्रेस र नेकपा (एकिकृत समाजवादी) दलले आधा÷आधा कार्यकाल बाँडेर प्रदेश सरकारको नेतृत्व गर्ने गरेको आन्तरिक सहमतिको कारण प्रदेश १ मा कांग्रेसले बैठक स्थगित गराएको हो । प्रदेश १ का प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई विभेद गरेर प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले बागमतिमा मात्रै आधा कार्यकालको सहमति गरेकोले केन्द्रीय गठबन्धनको निर्णयलाई चुनौति दिन आइतबारको बैठक स्थगित गराइएको कांग्रेसका एक प्रदेश सांसदको भनाई छ ।

प्रदेशसभा बैठक बस्ने समयमा प्रधानमन्त्री देउवाको कार्यक्रम सकेर कांग्रेसका सबै प्रदेश सांसद प्रदेशसभामा आइसकेका थिए । त्यसपछि तत्काल दलको बैठक भन्दै सबै सांसदलाई सँगै राखेर नेता कोइरालाले सुरु गरेको बैठक दिउ“सो ३ बजेपछि मात्रै टुंग्याएका थिए ।

दलका नेता कोइराला कांग्रेसका संस्थापन इत्तर पक्षका भएकाले सभापति देउवाले प्रदेश १ सरकारको पूर्ण कार्यकालको नेतृत्व एकिकृत समाजवादीलाई दिने गठबन्धनमा सहमति गरेको प्रदेश सांसदहरुको आरोप छ ।

संस्थापन इत्तर पक्षका नेता कोइराला मुख्यमन्त्री बन्ने भएकाले सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, संस्थापन पक्षका केन्द्रीय सदस्यहरु र प्रदेश सांसदहरु सभापति देउवालाई प्रदेश १ सरकारको नेतृत्व कांग्रेसको भागमा नलिन आग्रह गर्दै आएको प्रदेश सांसदहरुको आरोप छ ।

त्यसैले प्रधानमन्त्री तथा सभापति देउवा विराटनगर आएकै दिन उनले गरेको निर्णयलाई चुनौति दिदै प्रदेशसभा बैठक स्थगित गराएको कांग्रेसका प्रदेश सांसदको भनाई छ । कांग्रेसको आन्तरिक विवादले मुख्यमन्त्री आचार्यको कार्यकाल कार्तिक १५ गतेसम्मका लागि लम्बिएको हो ।

दलको बैठकमा कांग्रेसका संस्थापन पक्षका प्रदेश सांसदहरुले बैठक स्थगितको निवेदन फिर्ता लिएर बैठक बस्न दलका नेता कोइरालालाई दवाव दिएका थिए । त्यस क्रममा दलको बैठकमा चर्काचर्की समेत भएको एक सांसदले बताउनुभयो ।

कांग्रेसका नेता शेखर कोइराला प्रदेश १ मा प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारको नेतृत्व पाउनु पर्ने अडान लिएको कारण पनि आइतबारको बैठक स्थगित भएको एक प्रदेश सांसदले बताउनुभयो । कार्तिक १५ गतेसम्मका लागि बैठक स्थगित भएपछि पार्टीमा प्रदेश १ सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने दवाव दिन संस्थापन इत्तर पक्षका नेताहरुले समय पाएका छन् ।

सभापति देउवाले प्रदेश १ सरकारको नेतृत्वको विषयमा सही निर्णय नलिए एमालेको समर्थनमा कांग्रेसको एकल सरकार बनाउने समेत आन्तरिक तयारी गरेको संस्थापन इत्तर पक्षका प्रदेश सांसदले बताउनुभयो ।

दलका नेता राजिव कोइरालाले बागमति प्रदेशमा आधा आधा कार्यकाल बाँड्ने तर प्रदेश १ मा पूर्ण कार्यकाल एकिकृत समाजवादीलाई दिने निर्णयले सभापति देउवाले आफूहरुलाई सौताको व्यवहार गरेको गुनासो पोखे । ‘आइतबारको प्रदेशसभा बैठक स्थगितले प्रदेशको दलीय गठबन्धनमा कुनै असर पर्दैन,’ उहाँले भन्नुभयो, ‘किनकी यो आफूहरुको पार्टीभित्रको विभेदविरुद्धको लडाइँ हो ।’ प्रदेश १ का कांग्रेसका प्रदेश सांसदले एकिकृत समाजवादीस“ग आधा÷आधा कार्यकाल माग्न नगई पार्टीभित्रै निर्णय गराउने कोइरालाको भनाई थियो ।

उहाँले सभामुख भण्डारीले समन्वय नै नगरी कार्तिक १५ गतेसम्म लामो अबधी प्रदेशसभा बैठक स्थगित गरेको प्रति आक्रोश पोख्नुभयो । उहाँले सभामुखले एमालेलाई हित हुने गरी बैठक स्थगित गर्नु गलत भएको प्रतिक्रिया दिनुभयो ।

एकिकृत समाजवादीका नेता राजेन्द्र राईले कांग्रेसले प्रदेशसभा बैठक स्थगित गराउनु गलत भएको बताउनुभयाो । ‘गठबन्धनमा कुनै कुरो थियो गठबन्धनमा र पार्टीमा केही थियो पार्टीभित्र कुरो राखेर समस्याको समाधान खोज्नु पर्ने थियो,’ उहाँले भन्नुभयो, ‘तर मुख्यमन्त्री ज्यूको कार्यकाल लम्बिने गरी सदन स्थगित गराउनु उचित भएन ।’ कांग्रेसले दिएको ठाउँलाई सदुपयोग गर्दै सभामुख भण्डारीले एमालेलाई फाइदा पुग्ने गरी निर्णय गर्नु उचित नभएको राईको भनाई छ ।

Back to top button