मकवानपुरमा एमाले पालिका अधिवेशन १३ गते मात्र हुदै

विराटनगर। नेकपा एमाले मकवानपुरको पालिका अधिवेशन आगामी कात्तिक १३ गतेका लागि सारिएको छ । नेकपा एमाले मकवानपुरले आन्तरिक व्यवस्थापकीय तयारी नपुगेकाले पालिका अधिवेशन १३ गते लाई सरेको हो ।

केही व्यवस्थापकीय तयारी नपुगेका कारण आजका लागि तोकिएको पालिका अधिवेशन सार्नुपर्ने अवस्था आएको नेकपा एमाले मकवानपुरका अध्यक्ष बद्री प्रसाद लम्सालले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाको केही वडाको अधिवेशन पनि गर्न बाँकी रहेको र पालिका अधिवेशनको तयारीमा केही समय लाग्ने भएकाले केन्द्रीय नेतृत्वसँगको छलफलबाट आजको हुने भनिएको पालिका अधिवेशन सारिएको हो । ‘हामीले अधिकांश वडामा कात्तिक ६ गते नै अधिवेशन सम्पन्न गरिसकेका छौ ।

केही वडामा आगामी १० गते भित्र अधिवेशन सम्पन्न हुनेछ । पालिकाको केही व्यवस्थापकीय तयारी गर्नुपर्ने हुन्छ त्यसैले आज गर्ने भनिएको पालिका अधिवेशन केन्द्रीय नेतृत्वसँगको सल्लाहमा १३ गतेका लागि सारिएको हो ।

नेकपा एमालेले पालिका अधिवेशनबाट मकवानपुरको हेटौँडा उपमहानगरपालिकाबाट ८५ सदस्यीय नगर कमिटीलाई नेतृत्व प्रदान गर्नेछ भने, एक नगरपालिका र ८ गाउँपालिकामा ७५ सदस्यीय कमिटी चयन हुने अध्यक्ष लम्सालले बताउनुभयो।

सम्भव रहेसम्म सबै पालिकामा सर्वसम्मत रूपमा नेतृत्व प्रदान गर्ने गरी छलफल भइरहेको उहाँले बताउनुभयो। सर्वसम्मत नेतृत्व प्रदान गर्न नसकेको खण्डमा भने निर्वाचन प्रक्रियाबाट नेतृत्व छनौट हुने उहाँको भनाई रहेको छ ।

Back to top button