राष्ट्र बैङ्कले तीन वटा वाणिज्य बैङ्कलाई गर्‍यो कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले तीन वटा वाणिज्य बैङ्कलाई कारबाही गरी हर्जना तिराएको छ । राष्ट्र बैङ्कले जारी गरेको नीति उल्लङ्घन गरेको भन्दै बैङ्कले नेपाल बङ्गलादेश बैङ्क,प्रभु बैङ्क र हिमालयन बैङ्कलाई कारबाही गरेको हो ।

अनिवार्य नगद मौज्दात अर्थात् वैधानिक तरलता अनुपात राष्ट्र बैङ्कले तीन वटा बैङ्कलाई नै तोकिए बमोजिम नराखेको भन्दै बैङ्कलाई कारबाही गरेको राष्ट्र बैङ्कका प्रवक्ता देवकुमार दाहालले जानकारी दिनुभयो ।

राष्ट्र बैङ्कले नेपाल बङ्गलादेश बैङ्कलाई ३० हजार तीन सय २४ रुपैयाँ ४२ पैसा, प्रभु बैङ्कलाई ३५ हजार छ सय ९५ रुपैयाँ १२ पैसा र हिमालयन बैङ्कलाई दुई पटक कारबाही गरेको गरी एकपटक १७ हजार एक सय २२ रुपैयाँ तीन पैसा र अर्को पटकमा १२ हजार आठ सय ९९ रुपैयाँ एक पैसा हर्जना तिराएको प्रवक्ता दाहालको भनाइ छ ।

नियम उल्लङ्घन गरेको भन्दै बैङ्कका अध्यक्ष, सञ्चालक र सीईओबाट उक्त पैसा असुल हुने गरी कारबाही गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।

Back to top button