श्रीमानले झारफुक गर्ने क्रममा श्रीमती र छोरीको मृत्यु

विराटनगर । इलामको देउमाई नगरपालिकामा झारफुक गर्ने क्रममा दुईजनाको मृत्यु भएको छ। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार नगरपालिका ५ बारुङ का ३३ वर्षीय कमल तामाङले झारफुक गर्ने क्रममा श्रीमती र छोरीको मृत्यु भएको हो।

प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवीनराज राईले आज बिहान करिब ६ बजे ३४ वर्षीया बिरामी श्रीमती सीता तामाङ र १६ वर्षीया छोरी शिक्षा तामाङको झारफुक गर्दै घाँटी र शरीरको विभिन्न स्थानमा टोक्दा मृत्यु भएको जानकारी दिनुभयो।

तामाङले आफ्नै घरभित्र परिवारका सदस्यकाबीच धामी बस्दै समय–समयमा बेहोस हुने बिरामीका रुपमा रहेका दुवैजनाको रोग हटाउन झारफुक गरेको प्रहरीको भनाई छ।

घटनाको जानकारी पाएसँगै गजुरमुखीस्थित अस्थायी प्रहरी चौकीबाट टोलीले तामाङलाई हत्या अभियोगमा पक्राउ गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रवक्ता राईले जानकारी दिनुभयो ।

Back to top button