म्यानचेस्टरका लागि जिनेदिन जिदान प्रशिक्षक नबन्ने

काठमाडौं । रियाल मड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान म्यानचेस्टर युनाइटेडको आगामी प्रशिक्षक नहुने भएको छ । घरेलु मैदानमा लिभरपुलविरुद्ध बेहोरेको लज्जास्पद हारका कारण युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायर बर्खास्त हुने सम्भावना प्रवल रहेको छ ।

उहाँ बर्खास्त भएको खण्डमा चेल्सीका पूर्व प्रशिक्षक एन्टोनियो कोन्टेसँगै जिनेदिन जिदानको पनि नाम जोडिएर चर्चा भइरहेको छ । यद्यपि, मुन्डो डिपोर्टिभोका अनुसार गत सिजनको अन्त्यमा रियाल मड्रिड छाडेका जिदान अहिले पुनः प्रशिक्षणमा फर्किने तयारी छैन ।

रियाल छाडेपछि केही समय विश्राम लिने योजनामा छन् । रियाललाई लगातार तीन पटक च्याम्पियन्स लिग जिताएर पहिलो कार्यकाल टुङ्ग्याउनु भएका जिदानले रियालमा दोस्रो कार्यकालमा पनि ला लिगा जिताउनु भएको हो ।

खराब लयबाट गुज्रिरहेको म्यानचेस्टर युनाइटेडले वर्तमान प्रशिक्षक सोल्सायरलाई बर्खास्त गर्ने कुरा लगभग निश्चित रहेको छ ।

Back to top button