सिंघिया खोलाको पुल भत्किने जोखिम (तस्बिरहरु)

विराटनगर । विराटनगर र पूर्वी मोरङ जोड्ने सिंघीया खोलाको पुल बाढीले कटान गरिरहेको हुँदा जोखिममा परेको छ । हालै आएको बाढीले विराटनगरको हाटखोला र कटहरी बजार जोड्ने पुलको पिल्लरको जग कटान भइरहेकोले जोखिममा परेको हो ।

पुलको चार वटा पिल्लरमध्ये पूर्वपट्टिको तीन कटान भइरहेको छ । पुलको माथिल्लो भागमा पनि खाल्डै खाल्डो भएर भ्वाङ पर्ने अवस्था भएको हुँदा दुर्घटनाको जोखिमसमेत बढेको छ । कटहरी र विराटनगर दुबैतर्फ उद्योगहरु रहेकोले उद्योगको कच्चा पदार्थ र उत्पादन बोकेर कन्टेनर, लरीलगायतका २२ चक्कासम्मको सयौं ट्रक दैनिक उक्त पुलबाट ओहोर दोहोर भइरहेकोले भत्किने जोखिम बढेको कटहरी गाउ“पालिकाका अध्यक्ष रामकुमार कामतले बताउनुभयो ।

‘सिंघीया खोलाको पुल भत्किए विराटनगर पूर्वका सम्पूर्ण उद्योगका लागि आउने कच्चा पदार्थ ल्याउन र उत्पादन बजार पठाउने कार्य बन्द हुन्छ,’ उहाँले भन्नुभयो, ‘पुल भत्किए पूर्वी मोरङको सम्पर्क नै विराटनगरस“ग विच्छेद हुन्छ त्यसैले तत्काल कटान रोकथामका साथै पुल मर्मत आवश्यक छ ।’

पुलको जग कटान भइरहेको सूचना आएपछि मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले प्राविधिक इञ्जिनियरको टोलीसहित मंगलबार निरीक्षण गर्नुभएको छ । ‘तल पुलको जगको वरिपरीको माटो ४ फिटभन्दा बढी कटान भइसकेको छ भने माथि खाल्डैखाल्डो परेर भ्वाङ फुट्ने अवस्था देखियो,’ उहाँले भन्नुभयो, ‘औद्योगिक क्षेत्र भएकोले पुलबाट हेभी गाडीहरु रातदिन चलिरहेको हुँदा जुनसुकै बेला दुर्घटना हुने अवस्था छ ।’

उक्त पुल हुलाकी सडक परियोजनाअन्तर्गत रहेकोले प्रजिअ दाहालले तत्काल मर्मतका लागि निर्देशन दिएको बताउनुभयो । उहाँले पुलको अबस्थाको बारेमा विभाग र सम्बन्धित मन्त्रालयलाई समेत जानकारी गराएकोले तत्काल मर्मत गरिने प्रतिबद्धता जनाउनुभयो ।

हुलाकी सडक परियोजना इकाई इटहरीका इञ्जिनियर शिवराम देवले आफूहरुले बुधबार पुलको स्थलगत अबलोकन गरेर तत्काल कटान रोक्ने उपाय लगाउने बताउनुभयो ।

यस्तै, विराटनगर र कटहरीको महेशपुर जोड्ने सिंघीया खोलाको अर्को पुलमा पनि बाढीले क्षति पु¥याएको छ । उक्त पुलको पश्चिमतर्फको पिल्लरमा बाढीले कटान हुँदा भत्किने जोखिम बढेको प्रजिअ दाहालले बताउनुभयो । उक्त पुल सडक डिभिजन कार्यालय विराटनगरलाई मर्मतका लागि उहाँले निर्देशन दिएको बताउनुभयो ।

यस्तै, विराटनगर १४ स्थित जतुवा र जहदा गाउँपालिका ३ भाथिगछ जोड्ने सिंघीया खोलाको अर्को पुलमा पनि बाढीले क्षति पु¥याएको छ । पुलको पश्चिमपट्टिको स्ल्याब बगाएकोले सडक अबरुद्ध भएको छ । सडक अबरुद्ध हुँदा तरकारी खेतीको पकेट क्षेत्र रहेको भाथिगछका किसानले आफ्ना उत्पादन विरानटगर ल्याउन कठिनाई व्यहोर्दै आएका छन् । वडा कार्यालयको सहयोगमा स्थानीय किसानहरुले मंगलबार माटो हालेर पैदल हिड्न सक्ने बनाएको जहदा गाउँपालिकाका अध्यक्ष कैलास मण्डलले बताउनुभयो ।

उक्त पुल इटहरीस्थित पुल सेक्टर नम्बर १ कार्यालय मातहत रहेकोले तत्काल मर्मतका लागि प्रजिअ दाहालले निर्देशन दिनुभयो । पुल सेक्टर नम्बर १ कार्यालय इटहरीका प्रमुख कैलास देवले बुधबारदेखि कटान भएको ठाउँमा ग्रोभेल भरेर एक साताभित्र सडक सुचारु गराउने प्रतिबद्धता जनाउनुभयो ।

Back to top button