बागमती प्रदेशका मुख्यमन्त्री शाक्यले आज राजीनामा दिँदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज पदबाट राजीनामा दिने हुनुभएको छ ।

गत असोज २४ गते शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गर्दा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नबारे आज प्रदेशसभामा उत्तर दिएपछि राजीनामा घोषणा गर्ने तयारी रहेको नेकपा एमाले प्रदेशसभा सदस्य अरुण नेपालले जानकारी दिनुभयो । यसपछि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनापत्र बुझाउने उहाँले बताउनुभयो ।

विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि बनाउने निर्णय गरिसकेको छ। बागमतीमा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति पनि भएको छ।

मुख्यमन्त्री शाक्य भदौ २ मा नेपालकै पहिलो महिला मुख्यमन्त्री बन्नुभएको थियो। नेकपा एमालेका १३ सांसद् एकीकृत समाजवादीतिर लागेपछि शाक्य अल्पमतमा पर्नुभएको हो ।

मुख्यमन्त्री शाक्यसँग हाल सभामुखसहित ४३ जना सांसद् छन्। प्रदेश सभामा एमालेका ४३‚ माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३‚ विवेकशील साझा पार्टीका ३‚ नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई/दुई तथा जनता समाजवादी पार्टीका १ सांसद् छन्। विश्वासको मत पाउन ५५ सांसदको समर्थन चाहिन्छ।

Back to top button