एसी मिलान इटालियन सिरी ए लिगको शीर्ष स्थानमा

काठमाडौं । टुरिनविरुद्ध झिनो गोल अन्तरले विजयी हुँदै एसी मिलान इटालियन सिरी ए लिगको शीर्ष स्थानमा फर्किएको छ । गएराति भएको खेलमा मिलानले टुरिनलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान सान सिरोमा मिलानलाई जिताउन चेल्सीका पूर्वस्ट्राइकर ओलिभियर जिराउडले १४ मिनेटमा गरेको गोल निर्णायक बन्यो । बाँकी समय दुबै टोलीले गोलका अवसर सदूपयोग गर्न सकेनन् ।

जितसँगै अपराजित मिलान १० खेलबाट २८ अंक जोड्दै शीर्ष स्थानमा फर्किएको छ । मिलानले ९ खेल जित्दा १ खेलमा बराबर गरेको छ । दोस्रो स्थानमा ९ खेलबाट २५ अंक बनाएको नापोली छ । मिलानसँग पराजित टुरिन १० खेलबाट ११ अंकसहित १२औँ स्थानमा रहेको छ।

गएराति भएका अन्य दुई खेलमा १० खेलाडीमा सीमित भेनेजियालाई सेलेर्निटनाले २–१ गोल अन्तरले पराजित गरेको छ । स्पेजिया र जिनोयाले १–१ गोलको बराबरी खेले ।

Back to top button