समयमा काम नसक्ने ठेकेदारहरूलाई पक्राउ पुर्जी जारी गर्ने मोरङका सिडिओको चेतावनी

विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) काशीराज दाहालले समयमा काम नसक्ने ठेकेदारहरूलाई पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिनुभएको छ ।
अलपत्र अवस्थामा छाडेका तथा बाढी पहिरोका कारण क्षति पुर्‍याएका योजनाको अनुगमनका क्रममा सिडिओ दाहालले समयमै काम नसक्ने ठेकेदारलाई कारबाही गर्ने बताउनु भयो ।
‘ठेकेदार, आयोजना हेर्ने कार्यालयका प्रमुख तथा इन्जिनियरलाई फोनमार्फत जानकारी गराएर तुरुन्त काम सक्न निर्देशन दिएका छु,’ उहाँले भन्नु भयो, ‘तोकेको समयमा काम नसक्ने ठेकेदारलाई पक्राउ पुर्जी जारी गरेर कानुन अनुसार अगाडि बढ्छु । एक पटक फेरि चान्स दिन्छु, त्यो समयमा पनि काम गरेनन् भने पक्राउ गर्छु ।’ काम नगर्ने ठेकदारहरूको नाम समेत तयार पार्न थालेको उहाँको भनाइ रहेको छ ।
केही दिन देखी उहाँ इन्जिनियर सहितको टोली लिएर अलपत्र परेका तथा मर्मत गर्नु पर्ने पुर्वधारहरुको अनुगमन गरी रहनु भएको छ ।
केही दिनअघि आएको बाढी पहिरोका कारण कटान गरेर जोखिम बढेपछि विराटनगर र पूर्वी मोरङ जोड्ने सिँघीया खोला पुलको दाहालले अनुगमन गर्नु भएको थियो । पुलको पिल्लरमा बाढीले असर पुर्‍याएको तथा खाल्डाखुल्डी धेरै परेको सूचना पाउनासाथ दाहाल प्राविधिक इन्जिनियरको टोलीसहित निरीक्षणमा पुग्नुभएको थियो ।
हुलाकी सडक परियोजनाअन्तर्गत पर्ने पुल तत्काल मर्मतका लागि सडक डिभिजन कार्यालय विराटनगरलाई कटान गरेको क्षेत्रबाट नै दाहालले टेलिफोनमार्फत निर्देशन समेत दिनुभएको थियो। । अद्यौगिक क्षेत्र भएकाले पिल्लको काम दिउँसो र माथि ढलानको काम राति गर्न समेत उहाँको निर्देशन थियो ।
सिडिओ दाहालले बुधवार ६ लेन सडकको अनुगमन गर्नु भएको थियो । बरगामी चोकमा सडक अलपत्र अवस्थामा देखेपछि आक्रोशित बन्नुभएका  सिडिओ दाहालले स्थानीयलाई निवेदन दिन आग्रह गर्नु भएको थियो ।
सिडिओ दाहाल जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीलाई समेत लिएर अनुगमनमा जानुभएको थियो ।  सडकको काम छाडेर सम्पर्कमै नआई ठेकेदार लामो समयसम्म बेपत्ता रहेको भन्दै खोजी गर्न समेत निर्देशन दिनुभएको थियो ।
बगरगामी र दुहबी खण्डमा समस्या देखिएको ६ लेन आयोजनाका इन्जिनियर उपेन्द्र दासले बताउनु भयो । सडक अन्तर्गत सुनसरीको दुहबीमा ठेक्का लागेको छैन । मोरङ खण्डमा बगरगामीदेखि ७५ मिटर सडक बनाउने जिम्मा कञ्चनजङ्घा पीएसी जेभी कन्स्ट्रक्सनले पाएको थियो ।
अधुरो रहेको सडक निर्माणको काम सक्न पटक–पटक ताकेता गरे पनि जिम्मा लिएको कन्स्ट्रक्सनले अटेरी गरेको इन्जिनियर उपेन्द्र दासको आरोप छ ।सिडिओ दाहाल आफै अनुगमनमा निस्केपछि पुर्वधारसँग सम्बन्धित कार्यालयका प्रमुख तथा इन्जिनियर समेत आत्तिएका छन् ।
सिडिओ दाहालले जिल्लामा अलपत्र अस्थानमा छाडिएका आयोजनाको विवरण तयार गर्न थालिएको बताउनु भएको छ । आज उत्तरी मोरङका केही योजनाको अनुगमन गर्ने उहाँले बताउनु भयो ।

Back to top button