नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं । महोत्तरीको गौशाला स्थित नक्कली नोटसहित एक जनालाई पक्राउ गरिएको छ । गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई प्रहरीले आज बिहान नक्कली नोटसहित पक्राउ गरेको हो ।

पक्राउ परेका महतोको गौशाला बजारस्थित डेराबाट आठ लाख ९७ हजार ४३५ नेपाली र दुई लाख ८० हजार ९२९ रुपैयाँ भारतीय नोट प्रहरीले बरामद गरेको छ ।

बजारमा तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएको आशंकामा प्रहरीले महतोलाई नियन्त्रणमा लिई महतोको डेरा खानतलासी गर्दा त्यो रकम फेला परेको गौशालास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

बरामद नोटमध्ये कति सक्कली र कति नक्कली हुन् भन्ने विज्ञबाट ठहर गराइने प्रहरी निरीक्षक विष्णुप्रदीप वस्यालले जानकारी दिनुभयो । पक्राउ परेका महतोलाई बरामद नोटसहित जिल्ला प्रहरी कार्यालय, महोत्तरी पठाइएको छ ।

महतो भारत र नेपाल दुवैतिरका तरकारी व्यापारी रहेको प्रहरीले जनाएको छ । बरामद नोटमध्ये कतिवटा सक्कली र कतिवटा नक्कली भन्ने यकिन गर्न बाँकी रहेपनि गत असोजमा भने हजार दरका २२ वटा नक्कली नोट रहेको पुष्टि भएको थियो ।

सामान्य प्रचलनमा रहेका नेपाली एक हजार दरका नोटभन्दा छाम्दा पातलो लाग्ने र रङसमेत अलि फिका देखिने नक्कली नोट चासो दिने सामान्य व्यक्तिले पनि सजिलै छुट्याउन सक्ने प्रहरीको भनाइ छ ।

Back to top button