बानेश्वर सडकको खाल्डो पुर्न अझै हप्‍ता दिन लाग्‍ने

काठमाडौं । बानेश्वरको मूल सडकमा परेको खाल्डो पुर्न अझै एक हप्‍ता लाग्‍ने भएको छ। भित्रभित्रै भत्किएर बनेको खाल्डो अवलोकनका लागि उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्य त्यहाँ पुग्नुभएको थियो ।

शाक्यले मंगालको भित्ता भत्किएको र पानी धेरै आएकोले भित्री भाग बगाएको हुँदा खाल्डो भएको बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत शाक्यले भत्किएको मंगालमा डन्डी नराखिएको, ढलान नगरिएको कारण पानी धेरै परेकोले बगाएको भन्नुभएको छ ।

उहाँले सवारीसाधहरुको चाप धेरै हुने सडक भएकोले तत्काल समस्याको समाधान गर्नुपर्ने भए पनि यसको पूर्ण मर्मत भइसक्न अझै एक हप्ता लाग्‍ने जानकारी दिनुभयो ।

प्रमुख कार्यकारी अधिकृत शाक्यले भने, ‘सडक भासिएको सत्‍य हो रहेछ। हामीले तत्काल मंगालको काम शुरु गरेका छौँ, पहिले बनाइरहेको मंगालमा डन्डी नराखिएको, ढलान पनि नगरिएको कारणले यस्तो भएको हो।

भित्र आरसिसी नै गरिरहेका छौँ, अब फेरि छिटो यस्तो समस्या नआओस्, सबै फिनिसिङ गर्दा एक हप्तामा काम सकिन्छ।प्रमुख कार्यकारी अधिकृत शाक्यले यसअघि मंगाल राम्रोसँग नबनाएकोले यो समस्या आएको भन्दै काम गर्ने ठेकेदार कम्पनीहरुले राम्रोसँग काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले ढलानको काम गर्दा नियमानुसार नगरेको र आ–आफ्नो तरिकाले काम गर्दा यस्तो समस्या झेल्नुपरेको बताउनुभयो ।

Back to top button