नेपाल टेलिकमद्वारा उच्च पहाडी जिल्लामा अप्टिकल फाईबर विस्तार

विराटनगर । नेपाल टेलिकमले प्रदेश १ का पर्यटकीय क्षेत्रलाई लक्षित गर्दै सोलुखुम्बुको पातले रिपिटर स्टेशनमा अप्टिकल फाइबर जडान गरेको छ । ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङ जिल्लाबासी र त्यहाँ पुग्ने पर्यटकले ब्याण्डविथका कारण एडिएसएल, एफटीटीएच र फोर जीमा झेल्दै आएको समस्या अप्टिकल फाइबरको जडान सँगै समाधान हुने भएको छ ।

यस्तै त्यस क्षेत्रका सरकारी तथा गैर सरकारी संघ संस्थाले सञ्चालन गरिरहेका लिजलाइन समेत अब उच्च गतिमा सञ्चालन हुने नेपाल टेलिकम प्रादेशिक निर्देशनालय विराटनगरले जनाएको छ । निर्देशनालयका निर्देशक सूर्यनारायण मालाकारले उच्च पहाडि क्षेत्रका लागि समेत यो टेलिकम सेवा विस्तारका क्षेत्रमा माइल स्टोन भएको बताउनुभयो ।

पातले, डाँडाखर्क र क्याम्जे रिपिटर मार्फत सल्लेरी, लुक्ला, स्याङबोचेलगायतका पर्यटकीय क्षेत्रमा पुग्ने पर्यटक र स्थानीय जनता समेत यो सेवा विस्तार पछि लाभान्वित भएको निर्देशक मालाकारले बताउनुभयो । उहाँले भन्नुभयो,‘हामी क्रमशः गुणस्तरीय सेवा विस्तारमा लागेका छौं, प्राथमिकताका आधारमा कामहरु भइरहेका छन् ।

केहि हप्ता पछि पातलेमा बिजुली पनि जडान हुने योजना छ जसले गर्दा सेवाको गुणस्तरमा झनै सुधार हुनेछ ’ यस अघि विराटनगरमा असोज २२ गते मात्र प्रदेशमै पहिलो पटक एनटीटिभि सेवा सुरु गरेको थियो । एउटै तारबाट टेलिफोन ईन्टरनेट तथा टेलिभिजन समेत हेर्नसकिने एनटीटीभिको शुभारम्भ भएको हो ।

Back to top button