बागमतीमा मन्त्रालय फुटाएर भागबण्डा पुर्‍याउने तयारी

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशमा रहेका मन्त्रालय फुटाएर भागबण्डा मिलाउने हुनुभएको छ । हिजो मुख्यमन्त्री बन्नुभएका पाण्डेले ८ वटा मन्त्रालय फुटाई १३ वटा बनाएर भएपनि गठबन्धनलाई भाग पुर्‍याउने तयारी गर्नुभएको हो ।

हिजो एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि गठबन्धनले पाण्डेको नेतृत्वमा सरकार गठन गरेको थियो। तत्कालका लागि नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्रीसहित २, कांग्रेस र माओवादीबाट १÷१ जना मन्त्री बनेका छन्।

पाण्डेले मुख्यमन्त्री भएपछि पहिलोपटक तिहारअघि संसद् बोलाउने र तिहारपछि विश्वासको मत लिएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

साढे ३ वर्ष तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले ७ मन्त्री र १ राज्यमन्त्रीबाट प्रदेश सरकार चलाउनुभएको थियो । त्यसपछि निवर्तमान मुख्यमन्त्री शाक्यले ८ मन्त्री र ४ राज्यमन्त्री गरी १२ सदस्यीय मन्त्रिपरिषद् बनाउँदा चर्को आलोचना भएको थियो ।

मुख्यमन्त्री पाण्डेले भने गठबन्धनलाई भाग पुर्याउनकै लागि मन्त्रालयलाई फुटाएर १३ वटा बनाउने तयारी गर्नुृभएको हो । यसका अतिरिक्त राज्यमन्त्री पनि छुट्टै हुनेछन् ।

गठबन्धनमा सहभागी दलका एक सांसदका अनुसार १३ जनासम्म फूल मन्त्री नै बन्नेछन् भने बाँकी राज्यमन्त्री कति बन्ने भन्ने टुंगो लागिसकेको छैन।

Back to top button