पहुँचकै भरमा मेयरका पिएसओ, घरायशी काममा समेत उपयोग गरिन्छन्

इन्द्र शर्मा,

विराटनगर । मोरङका केही स्थानीय तहका प्रमुख (मेयर)हरूले पहुूँचकै भरमा व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ) राख्ने गरेका छन् ।

मोरङमा विराटनगर महानगरपालिकाका मेयर भीमप्रसाद पराजुली, सुन्दरहरैँचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल र केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीले नेपाल प्रहरीका जवानलाई पीएसओ राख्नुभएको हो ।

स्थानीयतहलाई आफैं कानून बनाउने अधिकार छ । उनीहरूले नगर प्रहरी ऐन बनाएर कार्यकर्तालाई भर्ना पनि गरेका छन् । तर, आफैंले नियुक्त गरेका नगर प्रहरीप्रति भने उनीहरूको विश्वास छैन । जनताबाट चुनिएका जनप्रतिनिधि जनतासँगै डराउनु लज्जास्पद भएको स्थानीय अगुवाहरू बताउँछन् ।

स्थानीय तहका जनप्रतिनिधिहरूले पाउने सेवा सुविधासँग सम्बन्धित ऐन प्रदेश सरकारले बनाउँछ । प्रदेश १ सरकारले बनाएको सेवा सुविधा सम्बन्धित ऐनमा जनप्रतिनिधिहरूको सुरक्षासम्बन्धी केही उल्लेख गरिएको छैन । तर, स्थानीय तहका प्रमुखहरूले भने जिल्ला सुरक्षा समितिको बैठकमा निर्णय गरेर पीएसओ लिएको पाइन्छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भीआईपीहरूलाई दिएको सुरक्षाकर्मीहरूको संख्या घटाउने निर्णय गरेपछि तत्कालका लागि हटाइएको थियो । तर, फेरि तत्कालीन प्रदेश १ का डीआईजी इश्वरबाबु कार्कीको ठाडो आदेशमा पुन पीएसओ पठाउन थालिएको हो ।

कांग्रेस निकट भनेर चिनिएका कार्कीले कांग्रेसले जितेका स्थानीय तहका प्रमुखलाई मात्रै पीएसओ पठाएको भन्दै अन्य पार्टीबाट जितेका पालिकाका प्रमुखहरूले विरोध समेत गरेका थिए ।

अन्य पालिकाका मेयरहरूले शान्ति सुरक्षामा ‘थ्रेट’ भएको भन्दै पीएसओ माग गरे पनि कार्कीले ‘माथिको निर्देशन’ भन्दै पठाउन इन्कार गर्नुभएको थियो ।

जिल्ला सुरक्षा समिति प्रमुख समेत रहनुभएका मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आफू भर्खरै मात्रै सरुवा भएर आएकाले सुरक्षा गार्डबारे जानकारी नभएको बताउनुभयो ।

उहाँले स्थानीय तहहरूका जनप्रतिनिधिलाई सुरक्षाकर्मी दिने कानूनसम्मत नभएको उहाँले बताउनुभयो । मोरङका प्रहरी प्रमुख प्रहरी उपरक्षिक जनार्दन जिसीले सुरक्षा समितिको बैठकबाट फिर्ता बोलाउने बताउनुभयो । ‘म यहाँ आउनुभन्दा अगाडि नै पठाइएको रहेछ,’ उहाँले भन्नुभएको छ, ‘अब हामी फिर्ता बोलाउँछौं ।’

मोरङको केराबारी गाउँपालिकामा भने गत वर्ष अध्यक्ष रोहितबहादुर कार्कीमाथि कार्यकक्ष भित्र नै खुकुरी प्रहार भएपछि उहाँले सुरक्षा ‘थ्रेट’ भएको भन्दै पीएसओ लिनुभएको थियो ।

तत्कालीन विद्रोही पक्ष विप्लवका कार्यकर्ताको ‘थ्रेट’ भएपछि मात्रै उहाँले पीएसओ लिनुभएको हो । अहिले सुरक्षा जोखिम नरहेपनि उहाँले पीएसओ फिर्ता भने पठाउनुभएको छैन । विराटनगर र सुन्दरहरैँचाका मेयरले भने सामान्य अवस्थामै पीएसओ राख्नुभएको हो ।

पीएसओ लिएर बिहान–बेलुका भने मेयरहरूले घरायसी काममा खटाउने गरेको बताइन्छ । मेयरहरूका घरमा ग्याँस ल्याउने, पान ल्याउने, परिवारका सदस्यहरूलाई घुमाउन लैजानेलगायतका काम समेत पीएसओहरुले गर्ने गरेका छन् ।

त्यसो त पीएसओलाई अतिरिक्त पारिश्रमिक पनि स्थानीयपालिकाहरुले खुवाउने गरेका छन् । खाजा खर्चका नाममा पीएसओ हरुलाई अतिरिक्त पारिश्रमिक दिने गरेको बताइएको छ ।

Back to top button