प्रदेश १ सरकारबाट १८ जना स्रष्टा सम्मानित हुने

विराटनगर । प्रदेश १ सरकारले १८ जना स्रष्टालाई सम्मान गर्ने भएको छ । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमै वितरण गर्नुपर्ने पुरस्कार प्रदान गर्नेको नामावली सार्वजनिक गरिएको हो ।

अघिल्लो आर्थिक वर्षको अन्त्यमा सूचना जारी गरी सामाजिक विकास मन्त्रालयले आवेदनको माग गरेको थियो । मन्त्रालयले परेका आवेदनमध्ये १८ जनालाई छनोट गर्नका लागि खेम नेपालीको संयोजकत्वमा समिति गठन गरेको थियो ।

उक्त समितिले सिफारिस गरेअनुसारकै नाम सार्वजनिक गरेको हो । उक्त सम्मान उपयुक्त समयमा प्रदान गरिने उल्लेख गरिएको छ ।

प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयमार्फत वितरण गर्न लागेको ‘बालकृष्ण पोखरेल भाषा साहित्य कला सम्मान २०७८’बाट विराटनगरका साहित्यकार बलराम पोखरेललाई सम्मानित गर्ने भएको छ । यो १ लाख रुपैयाँ राशीसहित सम्मान हो ।

यस्तै ५० हजार राशीको प्रदेश भाषा साहित्य कला प्रतिभा सम्मानबाट लक्ष्मण नेवटीया (मोरङ), डमरुबल्लभ भण्डारी(सुनसरी), राम दियाली (इलाम), सरस्वती दुमी राई (पाँचथर), नविन राई (खोटाङ), माधव कल्पित (झापा), शंकर खरेल (मोरङ), प्रेम सुब्बा (सुनसरी), टीका चाम्लिङ (खोटाङं, भानुभक्त कुभिण्डेली (झापा), सत्यकला राई (खोटाङ) र मञ्जुश्री गिरी (मोरङ) सम्मानित हुने हुनुभएको हो ।

२५ हजार राशीको नवोदित भाषा साहित्य कला प्रतिभा पुरस्कार २०७८ बाट मोरङका सञ्जिव धिमाल र रामभजन कामत झापाबाट खगिन्द्रा निरौला ‘खुसी’ भोजपुरबाट कविता राई र इलामबाट सुरेश पोर्तेल पुरस्कृत हुने हुनुभएको छ ।

प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद महाशाखाले गत असार १३ गते एक सूचना प्रकाशित गरी असार २१ गतेसम्ममा आवेदनको माग गरेको थियो । भानुजयन्तीको अवसर पारेर असार २९ गते वितरण हुने यि पुरस्कारहरु यस पटक भने कोभिड–१९ का कारण पछि सरेको हो ।

Back to top button