भाण्टाबारी नाकाको सूचना केन्द्र प्रभावकारी, कोकनले स्थापना गरेको केन्द्रलाई निरन्तरता दिन जोड

विराटनगर । साझा सवालका लागि साझा मञ्च (कोकन) विराटनगरले सञ्चालनमा हेल्पलाईन प्रभावकारी देखिएको छ । कार्यक्रमको प्रभावकारीता बढ्दै गएकाले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

सुनसरीको कोशी गाउँपालिका स्थित भान्टाबारी नाकामा सूचना केन्द्र स्थापना गरेपछि त्यस नाका प्रयोग गरेर मानव बेचबिखन बढी हुने गरेको फेला परेको छ ।

प्रहरी, कोशी गाउँपालिका समेतको सहयोगमा कोकनले सञ्चालन गरेको सूचना केन्द्रले पछिल्ला वर्षमा यो नाका भएर भारततर्फ जान खोज्ने किशोरी र महिलाहरूलाई नाकामै रोक्ने र सोधपुछ गर्ने गरेको छ ।

यसरी सोधपुछ गर्दा विभिन्न बहाना बनाएर भारत तर्फ लैजान लागेका किशोरीहरुको उद्धारमा सहयोग पुग्दै आएको कोकनकी अध्यक्ष मञ्जिता उपाध्यायले बताउनुभयो ।

यसरी भारततर्फ जोखिमयुक्त ढंगले जान लगेकाहरूलाई सूचना केन्द्रले रोक्ने, कुरा बुझ्ने, र अभिभावकको जिम्मा लगाउनेदेखि जोखिम हेरेर सेफ हाउसमा राख्ने काम गर्दै आएको छ । सुनसरीको भाण्टाबारी नाकाको सूचना केन्द्रबाट मात्र १०४ जनाको उद्धार गरिएको र ८८० जनामा सूचना प्रवाह गरिएको बताउनुभयो ।

यस्तै कोकनले कोभिडको पहिलो र दोस्रो लहरसँगै मानिसमा परेको मनोसामाजिक समस्या हल गर्न फोन र प्रत्यक्ष भेटघाटको माध्यमबाट परामर्श सेवा समेत सुरु गरेको जनाएको छ । सञ्चारकर्मीसँग विराटनगरमा गरिएको अन्तरक्रियामा कोभिड तथा अन्य समस्याबाट पीडित भएकाहरुलाई कोकनले दुर र भौतिक गरि दुवै माध्यमबाट मनोपरामर्श सेवा दिने गरिएको कोकन अध्यक्ष उपाध्यायले जानकारी दिनुभयो ।

कोरोनाको दोश्रो लहरपछि शुरु गरिएको हेल्पलाईनबाट १२० जनालाई मनोपरामर्श दिईएको काउन्सीलर राधा बस्नेतले बताउनुभयो । उहाँका अनुसार फोनमा दिने परामर्श र घरमै पुग्दा कहिलेकाँही फरक पनि हुने गर्दछ ।’

मनोपरामर्शका लागि प्रदेश १ लगायत देशका विभिन्न स्थानहरुबाट पनि फोन आउने गरेको हेल्पलाईन इन्चार्ज इन्दिरा भट्टराईले बताउनुभयो । उहाँका अनुसार डिप्रेसनको चरणमा प्रवेश गर्दै गरेका व्यक्तिहरुपनि मनोपरामर्शबाट पुरानै अवस्थामा फर्किएका पनि छन् ।

कोकनका कार्यक्रम संयोजक हेमन्तराज पौडेलले कोकनले हालसम्म गरेका प्रगति प्रस्तुत गर्नुभएको थियो । उहाँले कोकनले हालसम्म ७५ जना यूवा अभियान्ता तयार गरेको, मानव बेचविखन विरुद्धको पालिकास्तरीय समिति गठन गरिएको, बालसंरक्षण सम्वन्धि हिंसा र दुर्व्यवहारबाट बच्नका लागि ‘स्टीक एण्ड स्टोन’ कार्यक्रम गरिएको र मानव बेचविखन विरुद्धको कार्यक्रम शुरु गरेपछि सुनसरीको भाण्टाबारी नाकाबाट उद्धार र सूचना प्रवाह गरिएको बताउनुभयो ।

प्लान नेपालकी कार्यक्रम संयोजक लक्ष्मी पाठकले मकवानपुर, बाँके र सुनसरीमा गरि चालु आर्थिक बर्ष भित्रमा १ हजार ५ सय जनालाई सोधपुछ गरिएको बताउनुभयो । उहाँले मकवानपुरलाई ट्रान्जिट बनाएर भारत जाने गरेको पाईएको बताउनुभयो । उहाँका अनुसार सुनसरीको भाण्टाबारी र बाँकेको जमुनियाबाट मानव बेचविखनका घटनाहरु धेरै हुने गरेको पाईएको जानकारी गराउनुभयो ।

Back to top button