सर्वोच्चमा कानुन व्यवसायीको प्रदर्शन, सुरक्षा व्यवस्था कडा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै आज नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालतमा कालोपट्टी बाँधेर विरोध कार्यक्रम गर्दैछन् ।

कानुन व्यवसायीहरु नेपाल बारको कार्यालयबाट सर्वोच्च अदालत परिसरतर्फ लाग्नुभएको छ । एशोसिएसनले आज बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम गर्ने तय गरेको छ ।

विरोधको यो कार्यक्रम तीन दिनसम्म हुने नेपाल बार एशोसिएसनले जनाएको छ । प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उहाँको राजीनामा माग्दै विरोधका कार्यक्रम घोषणा गरेको छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार सर्वोच्चले १६ गते सर्वोच्च अदालत परिसरमा धर्ना तथा विरोधसभा गर्ने निर्णय गरेको छ । १६ गतेसम्म पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने नेपाल बारले जनाएको छ ।

यसअघि कात्तिक १२ गते बसेको बारको बैठकले जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन पाँच दिनको समयसीमा दिने निर्णय गरेको थियो । प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बारले सर्वोच्च अदालतमा बहस पैरवी बन्द गरेको छ ।

यता सर्वोच्च परिसरमा भने सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । कर्मचारीलाई समेत परिचयपत्र हेरेर मात्र प्रवेश दिइएको छ ।

Back to top button