एमाले अध्यक्ष ओली अयोध्याधामको अवलोकन गर्न माडी जाने

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावित माडीको अयोध्याधाम अवलोकन गर्ने हुनुभएको छ । पर्सि मंगलबार उहाँले पहिलोपटक अयोध्याधामको अवलोकन गर्ने हुनुभएको हो ।

२०७७ असार २९ भानुजयन्तीका दिन बालुवाटारमै आयोजित कार्यक्रममा ओलीले राम नेपालमै जन्मेको र अयोध्या पनि नेपालमै रहेको अभिव्यक्ति दिएपछि माडीको अयोध्यापुरी चर्चामा आएको थियो ।

अयोध्याधाममा वागमती प्रदेश सरकारको करिब ३० लाख लगानीमा मन्दिर, सत्तल, सुरक्षा गार्ड बस्ने भवन र शौचालय निर्माण गरिएको छ । ओली नेतृत्वको सरकारले अयोध्यापुरीको अध्ययन, अन्वेषण र संरक्षण गर्न १ करोड बजेट विनियोजन गरेको थियो ।

पुरातत्व विभागमार्फत देशभरका पुरात्विक स्थलको संरक्षण गर्न ४८ करोड बजेट विनियोजन भएको थियो । माडी नगरपालिकाले अयोध्याधामका लागि १०० बिघा जमिन प्रस्ताव गरेको थियो ।

ओलीकै निर्देशनमा बालुवाटारमै राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदको मूर्ति बनाएर गत वैशाखमा काठमाडौंदेखि रथयात्रा गरेर मूर्ति राखिएको थियो । ओलीले माडीमा अयोध्याधाम निर्माण गर्ने कार्यलाई सफल पार्ने अडान लिँदै आउनुभएको छ ।

माडी नगरपालिका–९ मा पर्ने अयोध्याधाम भरतपुरदेखि करिब ५० किलोमिटर दूरिमा छ । यहाँ रामायणसँग जोडिएका अयोध्यापुरी, वाल्मीकि आश्रम, सोमेश्वरगढी, पाण्डव नगर, पर्शुराम कुण्डलगायतका धार्मिक क्षेत्रहरू छन् ।

एमाले माडीका नेता श्रीप्रसाद दवाडीले अयोध्याधाम अवलोकनपछि ओलीले सम्बोधन गर्ने बताउनुभयो । ओलीको चितवन भ्रमणबारे एमाले भरतपुर महानगर कमिटीले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।

Back to top button