मंसिर पहिलो सातादेखि ई–पासपोर्ट जारी हुने

काठमाडौं । लामो समयदेखि चर्चामा रहेको ई–पासपोर्ट आगामी मंसिर पहिलो सातादेखि जारी गरिने भएको छ । ई–पासपोर्ट छाप्ने तयारी अन्तिम चरणमा पुगेको राहदानी विभागले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकले २०७५ साउनमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी)लाई स्तरोन्नति गर्दै ई–पासपोर्टमा जान विभागलाई सैद्धान्तिक सहमति दिएको थियो। यसको एक महिनाअघि असारमा ई–पासपोर्टमा जाने प्रस्ताव परराष्ट्र मन्त्रालयले मन्त्रिपरिषद् लगेको थियो।

त्यसपछि थप छलफल गर्नुपर्ने भन्दै प्रस्तावलाई मन्त्रिपरिषद्ले प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा पठाएको थियो। समितिको सुझावका आधारमा मन्त्रिपरिषद्ले गत वर्षको साउनमा ई–पासपोर्टमा जान स्वीकृत दियो। त्यससँगै विभागले प्रक्रिया अगाडि बढाएको हो।

ई–पासपोर्टका लागि परराष्ट्र मन्त्रालयले त्रिपुरेश्वरमा रहेको नयाँ भवनबाट पूर्वाधार जडान गरिसकेको राहदानी विभागका निर्देशक शरदराज आरणले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सबै तयारी गरिसकेका छौं। पासपोर्ट छपाइका लागि कर्मचारीलाई तालिम दिइरहेका छौं। अब मंसिर पहिलो साताबाट सञ्चालनमा ल्याउने छौं।’

हाल सञ्चालनमा रहेको एमआरपीमा प्रश्न उठेपछि ई–पासपोर्ट जारी गर्न लागेको विभागले जनाएको छ। ई–पासपोर्ट एमआरपीभन्दा विश्वसनीय र भरपर्दो मानिँदै आएको छ। ई–पासपोर्ट जारी भएपछि नक्कली पासपोर्ट बनाएर विदेश जाने निरुत्साहित हुने विभागको भनाइ छ।

राहदानी विभागले गत वर्ष कात्तिक पहिलो साता फ्रान्सेली कम्पनी आइडियाले आइडेन्टिटी एन्ड सेक्युरिटी फ्रान्सलाई २ करोड ११ लाख अमेरिकी डलर (साढे २ अर्ब रुपैयाँभन्दा बढी) बराबरको ठेक्का दिने निर्णय गर्दै प्रक्रिया अगाडि बढाएको थियो।

सुरक्षा र संवेदनशीलताका कारण देखाउँदै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले सन् २०२५ सम्म ई–पासपोर्टमा जानुपर्ने मापदण्ड तोकेको छ। उक्त मापदण्ड पूरा गर्न तत्काल कदम चाल्नुपर्ने भएपछि हतारमा सरकारले फ्रान्सेली कम्पनीलाई ईपासपोर्ट छपाइ दिएको हो। आइकाओले मापदण्ड तोके पनि अनिवार्य भने भनेको छैन।

Back to top button