प्रदेश १ का मुख्यमन्त्री आचार्यले राखेको विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने गठबन्धनको निर्णय

एकिकृत समाजवादीका नेता राईको नेतृत्वमा सरकारमा जाने

विराटनगर । प्रदेश १ का विपक्षी पाँच दलीय गठबन्धनको आइतबार बसेको बैठकले मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा पेस गरेको विश्वासको प्रस्तावविरुद्ध मतदान गर्ने निर्णय गरेको छ ।

गठबन्धन दलमध्ये कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सोमबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको प्रस्तावको विपक्षमा गठबन्धनका सबै प्रदेश सांसदले मतदान गर्ने र दलीय गठबन्धनको संस्कारलाई अझै मजबुत बनाएर अघि बढ्ने दुई बुंदे निर्णय गरेको बताउनुभयो ।

आधा आधा कार्यकालको विषयमा पार्टीभित्र संघष गरिरहेको र अहिले तत्काल केन्द्रीय गठबन्धनले गरेको निर्णय अनुसार नेकपा (एकिकृत समाजवादी)का नेता राजेन्द्र राईको नेतृत्वमा गठबन्धनको सरकार गठन गर्ने तयारी रहेको कार्कीले बताउनुभयो ।

सत्तारुढ गठबन्धनले बागमती प्रदेशमा नेकपा (एकिकृत समाजवादी) र कांग्रेसले आधा–आधा कार्यकाल बाँड्ने सहमति गर्ने तर कांग्रेसको राजनीतिक राजधानी तथा आधार क्षेत्र प्रदेश १ मा सिंगो कार्यकाल एकिकृत समाजवादीलाई दिने गठबन्धनको निर्णय मान्य नहुने भन्दै कांग्रेसले कार्तिक ७ गतेको प्रदेशसभा बैठक स्थगित गराएको थियो ।

कांग्रेस पार्टीभित्रको राजनीतिक अन्तरविरोधले प्रदेश १ सभाको बैठक कार्तिक ७ गते सूचना टाँसेर कार्तिक १५ गतेसम्मका लागि स्थगित गरिएको छ । सत्तारुढ दल एमाले र प्रमुख प्रतिपक्षी कांग्रेसले बैठक स्थगितका लागि निवदेन दिएपछि सभामुख प्रदिपकुमार भण्डारीले कात्तिक १५ गते सोमबार दिउँसो १२ः३० बजेसम्मका लागि सदन स्थगित गरेको हो ।

मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभा बैठकमा कार्तिक ५ गते विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथि छलफल गरी मत विभाजन प्रक्रियाद्वारा १५ गते टुंगियाउने कार्यसूची तय गरिएको छ । तर मुख्यमन्त्री आचार्यले विश्वासको मत नपाउने अवस्था देखिए राजिनामा दिएर मार्ग प्रशस्त गर्ने एमालेका एक सांसदले बताउनुभयो ।

मुख्यमन्त्री आचार्यविरुद्ध कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गठबन्धन बनाएका छन् । मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक हुन्छ ।

९२ सदस्यीय प्रदेशसभामा सभामुखसहित एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकिकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १\१ जना प्रदेश सांसद छन् । एमभालेका प्रदेश सांसद गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागज मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् ।

Back to top button