ललितपुरमा जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाइदै

काठमाडौं । ललितपुर महानगरपालिकाले जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउन शुरु गरेको छ ।

पहिलो चरणमा ७४ वर्षमाथिका जेष्ठ नागरिकलाई आजदेखि निमोनियाविरुद्धको खोप लगाउन शुरु गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार ललितपुर महानगरमा ७४ वर्षभन्दा माथिका जेष्ठ नागरिकको संख्या ५ हजार २ सय छन् । पहिलो चरणमा ५ हजार २ सय जनालाई खोप दिइएपछि बाँकीलाई दोस्रो चरणमा खोप दिइने योजना छ ।

अर्यालका अनुसार नागरिकताको प्रमाणपत्र र वडा कार्यालयको सिफारिसको आधारमा निमोनियाविरुद्धको खोप (पीसीभी–१३) दिन शुरु गरिएको हो । खोप कार्यक्रम १७ गतेसम्म सञ्चालन हुनेछ ।

वडामा रहेको खोप केन्द्रमा पुगि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन सकिने उहाँको भनाइ छ । दोस्रो चरण अन्तर्गत ७० देखि ७३ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने छ ।

दोस्रो चरणको खोप कार्यक्रम छिट्टै सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।

Back to top button