सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा बाढीले २ अर्ब ४७ करोडको क्षति

विराटनगर । बेमौसमी वर्षाले कार्तिक ३ गते आएको बाढीले सुनसरी–मोरङ औद्योगिक कोरिडोरस्थित उद्योगहरुमा २ अर्ब ४७ करोड १८ लाख ९८ हजार मूल्य बराबरको क्षति भएको छ ।

सुनसरी–मोरङ औद्योगिक कोरिडोरस्थित उद्योगहरुमा बाढीले भएको क्षतिको बारेमा उद्योग संगठन मोरङले अध्ययन गरी आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा ४१ वटा उद्योगमा क्षति भएको उल्लेख छ ।

उद्योगमा बाढी पस्दा मेसिन र औजारमा ९८ करोड १७ लाख १८ हजार, ७१ करोड २५ लाख ७० हजार मूल्य बारबरको कच्चा पदार्थ, ७६ करोड ४ लाख ४५ हजार मूल्य बराबरको तयारी मालबस्तु क्षति भएको प्रतिवेदनमा भनिएको छ । बाढीपछि उद्योगको सरसफाई तथा व्यवस्थापनमा १ करोड ७१ लाख ६५ हजार मूल्य बराबरको क्षति भएको उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले बताउनुभयो ।

‘अचानक राती आएको बाढी उद्योगहरुमा पस्दा ठूलो क्षति पुगेको छ,’ उहाँले भन्नुभयो, ‘बाढीको पूर्वानुमान नहुँदा मेसिनरी औजार, कच्चा पदार्थ र तयारी मालबस्तुमा क्षति पुगेको हो ।’

बाढी पसेकाले हुलास वायरलगायतका ७ वटा उद्योगहरु अझै सञ्चालनमा आउन सकेको छैन । जसमध्ये ३ वटा उद्योग सञ्चालन हुन एक महिना र ४ वटा उद्योग सञ्चालन गर्न १ महिनाभन्दा बढी समय लाग्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

बाढी आएको २ हप्तामा ७ वटा उद्योग सञ्चालनमा आएको छ भने २७ वटा उद्योग एक हप्तापछि सञ्चालनमा आएको अध्यक्ष प्याकुरेलले बताउनुभयो । बाढीबाट प्रभावित उद्योगहरुको दैनिक प्रशासनिक खर्च मात्रै ५ करोडभन्दा बढी रहेकोले उद्योगीहरुलाई ठूलो घाटा व्यहोर्नु परेको उहाँको भनाई थियो ।

उद्योगी व्यवसायीले बाढीले डुबान हुँदा चर्को कर लगाउने स्थानीय तहहरुले उद्योगको अवस्थाको बारेमा समेत जानकारी लिन नआएको भन्दै गुनासो पोख्नुभयो । बाढीबाट वर्षेनी सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा क्षति व्यहोर्नु परिरहेकोले बाढी र डुबानको स्थायी समाधान र क्षतिपुर्तिका लागि उद्योगी व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

Back to top button