प्रदेश १ सभा बैठक आज : विश्वासको मत प्राप्त हुने आधार नदेखिए मुख्यमन्त्री आचार्यले राजिनामा दिने

एकिकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बन्न चुनौति

विराटनगर । कांग्रेस पार्टीभित्रको अन्तरविरोधले सूचना टाँसेर कार्तिक ७ गते सूचना टाँसेर स्थगित भएको प्रदेश १ सभाको बैठक आज दिउँसो १२ः३० बजे बस्दै छ । बैठकका लागि मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभा बैठकमा कार्तिक ५ गते विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथि छलफल गरी मत विभाजन प्रक्रियाद्वारा टुंगियाउने कार्यसूची तय गरिएको हो ।

एमालेका प्रदेश सांसद एवं पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने केही दलहरुले अहिलेसम्म मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने प्रतिबद्धता जनाइरहेकाले सोमबारको प्रदेशसभामा विश्वासको मत लिने पक्षमा नै रहेको बताउनुभयो । संसदीय दलको अहिले बस्ने बैठकमा विश्वासको मत पाउने आधार नदेखिए मात्रै मुख्यमन्त्री आचार्यले राजिनामा दिने कार्कीले संकेत गर्नुभयो ।

मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्ने आधार नदेखिए प्रदेशसभामा हालसम्म प्रदेश सरकारले गरेको कामको बारेमा जानकारी गराएर राजिनामा घोषणा गर्ने एमालेका प्रदेश सांसदले बताउनुभयो ।

प्रदेश १ का विपक्षी पाँच दलीय गठबन्धनले मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा पेस गरेको विश्वासको प्रस्तावविरुद्ध मतदान गर्ने भएको छ । विपक्षी गठबन्धनको आइतबार बसेको बैठकले मुख्यमन्त्री आचार्यले राखेको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सोमबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको प्रस्तावको विपक्षमा गठबन्धनका सबै प्रदेश सांसदले मतदान गर्ने र दलीय गठबन्धनको संस्कारलाई अझै मजबुत बनाएर अघि बढ्ने दुई बुंदे निर्णय गरेको बताउनुभयो ।

सत्तारुढ गठबन्धनले बागमती प्रदेशमा नेकपा (एकिकृत समाजवादी) र कांग्रेसले आधा–आधा कार्यकाल बाँड्ने सहमति गर्ने तर कांग्रेसको राजनीतिक राजधानी तथा आधार क्षेत्र प्रदेश १ मा सिंगो कार्यकाल एकिकृत समाजवादीलाई दिने गठबन्धनको निर्णय मान्य नहुने भन्दै कांग्रेसले कार्तिक ७ गतेको प्रदेशसभा बैठक स्थगित गराएको थियो ।

यता, कांग्रेसका नेता शेखर कोइरालाले अझै प्रदेश १ सरकारको नेतृत्व कांग्रेसले पाउनु पर्ने अडानमा हुनुहुन्छ । उहाँले बागमति प्रदेशमा आलोपालो नेतृत्वमा एकिकृत समाजवादीले पहिलो नेतृत्व पाएकोले प्रदेश १ मा पहिलो नेतृत्व कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले पाउनुपर्ने बताउनुभयो । आलोपालो नेतृत्वमा प्रदेश १ मा पहिलो नेतृत्व कांग्रेसलाई दिनुपर्नेमा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालस“ग समेत छलफल भइसकेको उहाँको सचिवालयले जनाएको छ ।

तर राजिव कोइराला मुख्यमन्त्री हुँदा मंसिरमा हुने पार्टीको महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाको प्रभाव बढ्ने भएकोले प्रधानमन्त्री तथा कांग्रेसका सभापति देउवाले आलोपालो नेतृत्वको विपक्षमा रहेको एक प्रदेश सांसदले बताउनुभयो ।

राजिव कोइरालालाई मुख्यमन्त्री बन्न नदिनका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की शनिबारदेखि सुनसरीमा आएर बसेर माहोल बनाइरहेको कांग्रेसका कोइराला निकट सांसदको भनाई छ । मन्त्री कार्कीले सत्तारुढ गठबन्धनले गरेको निर्णय अनुसार एकिकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन निर्देशनसमेत दिएको प्रदेश सांसदहरुले बताउनुभयो ।

कांग्रेसभित्रको अन्तरविरोधले अझै एकिकृत समाजवादीका नेता राईलाई मुख्यमन्त्री बन्न चुनौति देखिएको छ । प्रदेश १ मा अस्तित्व रक्षाको लागि भए पनि कांग्रेसको नेतृत्वमा प्रदेश सरकार गठन हुनुपर्ने कोइराला निकट प्रदेशका नेताहरुले बताउनुभयो । उहाँहरुले प्रदेश १ सरकारको नेतृत्व पार्टी महाधिवेशनमा सभापतिका उम्मेदवार कोइरालाको प्रतिष्ठासँग समेत जोडिएको उनीहरुको भनाई छ ।

प्रमुख सचेतक कार्कीले आलोपालो नेतृत्वको विषयमा पार्टीभित्र संघष गरिरहेको र अहिले तत्काल केन्द्रीय गठबन्धनले गरेको निर्णय अनुसार एकिकृत समाजवादीका नेता राईको नेतृत्वमा गठबन्धनको सरकार गठन गर्ने तयारी रहेको बताउनुभयो ।

एकिकृत समाजवादीका नेता राईले पाँच दलीय गठबन्धनको आइतबारको बैठकले सोमबार मुख्यमन्त्री आचार्यले राखेको विश्वासको प्रस्ताव विफल बनाएर आफ्नो नेतृत्वमा सरकारमा जाने निश्चित भएको बताउनुभयो । ‘आलोपालो नेतृत्व गठबन्धनभित्र प्रवेश पाएकोले त्यो छलफल हुँदै जान्छ तर अहिले एकिकृत समाजवादीको नेतृत्वमा नै सरकार गठन गरेर अघि बढ्ने गठबन्धनले निर्णय गरेका छौं,’ उहाँले भन्नुभयो, ‘यसमा अब कुनै दुविधिा रहेन ।’

मुख्यमन्त्री आचार्यविरुद्ध कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गठबन्धन बनाएका छन् । मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक हुन्छ ।

९२ सदस्यीय प्रदेशसभामा सभामुखसहित एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकिकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १÷१ जना प्रदेश सांसद छन् । एमभालेका प्रदेश सांसद गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागज मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् ।

Back to top button