काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन भ्रमणका लागि आज मनाङ जान लाग्नुभएको छ । उहाँले मनाङका सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्राली स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्ने कार्यतालिका रहेको राष्ट्रपति कार्यालयले जनाएको हो ।
राष्ट्रपति भण्डारीले अवलोकन गर्नुहुने स्याउ फार्म नेपालकै सबैभन्दा ठूलो फार्म हो । यो फार्म मनाङको ङिस्याङ गाउँपालिका वडा नं १ भ्राताङमा छ । मनाङको चामेबाट यो फार्म करिब तीन किलोमिटर टाढा पर्दछ । यस फार्ममा इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेनलगायतका प्रजातिको स्याउ उत्पादन हुँदै आएको छ ।
गत आर्थिक वर्षमा उक्त फार्मबाट ४५० टन स्याउ उत्पादन भएको थियो । उक्त फार्म ७३५ रोपनी क्षेत्रफलमा छ । मनाङको स्याउ स्वादिलो हुने भएकाले स्थानीय र बाह्य बजारमा पनि निकै लोकप्रिय छ ।
बाढी पहिरोले पुर्याएको क्षतिको समेत उहाँले अबलोकन भ्रमण गर्नु हुनेछ । मनाङ बेमौसमी वर्षाले आएको बाढीका कारण ठूलो क्षति पुगेको छ । सडक, विद्युत गृहलगायतका संरचना बगाउनुका साथै पहिरोले कैयौंलाई घरबार बिहिन बनाएको छ ।