मानवीय सेवामा रेडक्रसको भूमिका प्रशंसनीय : मन्त्री थापा

काठमाडौं । गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले मानवीय सेवा रेडक्रसको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।

आज नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री थापाले समाज सेवामा रेडक्रसले उल्लेखित काम गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘समाजमा रेडक्रसको भूमिका महत्वपूर्ण छ ।

जहाँ दुख छ, त्यहाँ रेडक्रस पुग्ने गरेको छ। परोपकारी संस्थाको रुपमा रेडक्रस परिभाषित छ। भूकम्पका बेला होस् या अन्य प्राकृतिक विपतका समयमा रेडक्रस सँधै अगाडि बढेको नकार्न सकिदैन।’ मन्त्री थापाले कोभिडका समयमा सबै क्षेत्र ठप्प हुँदा एम्बुलेन्स सेवा र रगत अभावलाई परिपूर्ति गर्न रेडक्रसले पुर्याएको योगदानलाई प्रशंसा गरे।

हरेक क्षेत्र ठप्प हुँदा पनि रेडक्रस समाज सेवामा लागिरह्यो। सबै कोरोनाबाट डराए तर रेडक्रसलाई मानवीय सेवामा समर्पित भएको देख्न पाइयो’ मन्त्री थापाले भन्नुभयो, ‘महामारीमा एम्बुलेन्स सेवामा समस्या हुँदा समाधान भएर रेडक्रस उभियो। रगत अभाव समेत हुन दिएन ।

हाल केही हदसम्म भएको कोरोना नियन्त्रणमा रेडक्रसको भूमिका प्रशंसनीय छ।’प्रदेश सरकारले रेडक्रसलाई निरन्तर रुपमा सहयोग गर्दै आइरहेको र आगामी समयमा पनि गरिरहने प्रतिबद्धता जाहेर गर्नुभयो ।

रेडक्रसले पोखरा ८ सिर्जना चोकमा बनाउँदै गरेको अत्याधुनिक सुविधा सम्पन्न ब्लड बैंकका लागि आवश्यक भवन निर्माणमा देखिएका समस्यालाई सम्बोधन गर्ने बताउनुभयो ।

निर्माणाधिन अवस्थामा रहेको भवन आफ्नो निर्वाचन क्षेत्र भित्र पर्ने भएकाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट केही बजेट विनियोजन गर्ने र अन्य आवश्यक स्रोत साधनका लागि सम्बन्धित मन्त्रालयसँग समेत पहलकदमी गरिदिने बताउनुभयो ।

कार्यक्रममा रेडक्रस सोसाइटी गण्डकीका सभापति सूर्य ढकालले विपतका समयमा काम गर्ने संस्था रेडक्रस सरकारको साझेदार भएको उल्लेख गर्नुभयो। शिक्षा, स्वास्थ्य, खानेपानीको क्षेत्रमा रेडक्रसले काम गरिरहेको जानकारी गराउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डेले २०२२ सालमा झोलाबाट संचालन भएको रेडक्रस क्रियाशीलताका आधारमा आज यहाँसम्म आइपुगेको बताउनुभयो ।

नागरिकलाई सरल रुपमा थप सेवा प्रवाह गर्न कास्की रेडक्रसले स्रोत साधनको उपलब्धतालाई थप विस्तार गरिरहेको उहाँको भनाइ छ।

Back to top button